निलो आकाशमुनि
पृथ्वीमाथि उभिएको मानिसको
शिरमा राष्ट्रियताको चिह्न झुन्डिएको छ
यो मेरो नेपाली शिर
पुर्खाको वीरताको वीर
आज यसरी लेख्दै गर्दा
झुकिएको स्पष्ट अनुभव हुन्छ ।
रक्षक नै भक्षक भइदियो
राष्ट्रियतालाई पटक–पटक
लिलामीमा राखिदियो ।
ड्याउ-ड्याउ गर्दै कालापानी र लिपुलेख फिर्तीको ताउ लगाउँदै
कालो नटुवा सहरको चोक–चोकमा नेतागिरीको मुडमा
आफ्नो रैतीदुनियाँलाई अशान्त तुल्याउँछ
त्यसैले तेरो उच्च राष्ट्रवाद मेरो निम्ति उग्रवाद !
लोकमाथि राष्ट्रवाद नामको पुलिन्दा गरी–गरी फालेर
जल्दै गरेको जिउँदो लासहरूको आगो तापेर
तिमी तिम्रो वादहरूको गुणगान गर्दै गर्नु
साक्षी त म केवल छु
यो कुरूप गमन काल
किन लम्बिएर जान्छ ?
हरेक साँझ यो अगेनोको चुल्होको
आगो भने यसरी नै निभेर जान्छ ।
पुर्पुरोमा हात ठोक्छन्
आँखामा विवशता पोखिन्छ
भाग्यलाई सराप्दै ताछीमा आड लगाएर
क्षुधातुर शरीर सजीवताबिना जीवनहीन हुँदै जाँदा
कतिन्जेल उभिनु र जीवन र मृत्युको रेखामा ?
मानवताविनाको तेरो राष्ट्रवाद
ती निर्धाहरूलाई के दरकार ?
मध्ययुगीन सामन्ती कालको कालो रातजस्तो
प्रत्येक रात धताएर खोक्रो वादको प्रतिध्वनिले
मैले टेक्ने धर्तीमा जब कम्प ल्याउँछ
म सन्तुलन गुमाउँछु
देशको दुरदराजमा तुइन चुँडिइन्छ
यहाँ म आफैँ भित्रभित्रै टुटिन्छु ।
राष्ट्रियता, भक्तिभावना कुन तराजुले जोख्ने हो ?
कसरी हो ?
अहिलेसम्म बगेको मेरो आमाको आँसु पनि जोख्नैपर्ने भो !
भावनाहरूलाई तौलाउन सक्ने नकाबहरूले
अब मूल्य पनि तिर्न तयार हुनुपर्छ
सक्कली र नक्कली राष्ट्रवाद छुट्याइदिनुपर्छ ।

