साहित्यपोस्ट डट कम

कविता : टहरो

कविता : टहरो

फर्किएर जाने ठाउँ, पर्खिएर बस्ने ठाउँ

पाप र डर सल्बलाएको इतर संसारदेखि

सुख–दुःख लुकाएर काँप्दै उभिएको

गुम्सिएको टहरो !

माटोको भर गरेर बसेको, मायाको घर बनेर बसेको

अभर पर्दा याद आउने, थकाइ लाग्दा करुणाको काखमा बोलाउने

निर्बल खाँबोमा टिन कसेको, टेक्ने जमिनमा पानी रसाएको

एक गाँस पाक्ने, एक बास बस्ने

एक साँझ ढल्ने, एक सास फेर्ने

एक घाम पोखिने, एक जुन फैलिने

एक मुस्कान समात्ने, एक उच्छ्वास निस्कने

रङमङ गर्दै आफैँमा बरबराइरहने

वर्षौँदेखि गलामा सास अड्काएर

न कतै जान सक्छ, न कतै सर्न सक्छ

न कतै बोल्न सक्छ, न कतै रुन सक्छ

दुई हात–खुट्टा नभएको, घाम–वर्षामा छिन्नभिन्न

छातीमा तागतको हुङ्कार नभएको, बतास–हुरीले टुक्राखिया

अबोला, अँध्यारो, अनिश्चित

साँघुरो टहरो !

ज्याला गर्नेले एक थान गमलामा उद्यान गरेको

विश्वास गर्नेले एक थान तस्बिरमा अक्षता भरेको

घुघुती खेल्नेले अँध्यारोमा जुनकिरी लुकाएको

रोगी कायाले छायालाई वरपिपल मानेको

चामल–पीठोका आँखाले पैतलाका चिराहरू हेर्ने

दुई जोर भाँडा–लुगाले निद्रालु आँखाहरू हेर्ने

डराई–डराई स्मृतिमा बचाइराखेका झिना खुसीहरू

झोला–प्लास्टिकमा कोचिएर थाकेका दुई–चार थान फोटाहरू

कसिङ्गर, झार, झुल हटाएर बनाएको शान्त भुइँ र भित्ताहरू

मीठा–नमीठा सपनाहरू विपनामा देख्दा–देख्दा रुग्ण भएको

चाडबाडका ठट्टा–रमाइलो उही साँझमै बिर्सिने बानी परेको

आँगन छोडेर हिँड्दा कतै, मनको डर दानव भई बस्ने

कहिले अत्यास लाग्दा दलिन–अगेनाकै घृणा पनि लाग्ने

यो बाङ्गो खाट, यो पसाङ्गिएको दैलो, यो भरै नभएको भुइँ र ओत

माटो खोस्रिएर छुचुन्द्रो, पानी बढेर भल, भोट चाहिए ‘दल’ पस्ने

चिसो उम्रिएर करकर दुख्ने हड्डीको बलले थामिरहेको

ज्याद्रो जिन्दगीको प्रतीक यो, दमित यो, गलित यो

बेसहारा टहरो !

सामान्य मान्छेको खुसी, कति गाह्रो गरी आएको

सामान्य मान्छेको गल्ती, कति अज्ञान भएर गरेको

सामान्य मान्छेको गुनासो, कति निरुपाय भएर बोलेको

सबै हुटहुटी, सबै हीनता, सबै सुस्केरा, सबै मिथ्या

अनि व्याकुल दिनको स्वप्ननिद्रा, अशान्त मनको शान्तगृह

भुक्तभोगीको शरीर बसाएको, किलामा बादल लागेको ऐना झुन्डिएको

नगरको शरणमा आएको, खोलाको बगरमा बसेको

भाग्दै–भाग्दै जिन्दगीबाट यो अन्जान भूमिमा

एक मन आश पलायो, एक क्षण सास पलायो, एक दिन बास पलायो ।

गौँथलीको भग्न गुँडजस्तो, मृतजनको शोकजस्तो

बतासले बिर्सिएको बाटोजस्तो, बादल नभएको आकाशजस्तो

हिउँदको धमिलो घामजस्तो, अक्करमा अल्झिएको सासजस्तो

माटोमा मिलेको, न अब कतै जान सक्छ, न अब कतै सर्न सक्छ

यस धर्तीको कागजमा कतै नाम छैन

धिपधिप गर्दै दियालोमा खोजेको जिन्दगी खै कतै मुहान छैन

आगोले नखाएको, वर्षाले नडुबाएको, माटोमा नपुरिएको

मनको कुनामा, जिन्दगीले एकछिन विश्राम गर्न खोजेको

शान्त, अभय, सुन्दर टहरो !

ट्याग: दिपेश
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.