बासँगै
सरेका हुन् आमाका साँझबत्तीहरू
आकाशतिर ।
आमा चाहन्छिन्
बुर्लक्क नाघ्न शरीरको तगारो
र धोइदिन बाका टोपी र कछाड ।
नाघेर माइतीको आँगन छाडेर
जुनमामाका कोसेली पस्किदिन
बालाई एक पन्यूँ माया ।
बासँगै सरेको हो
आमाको संसार आकाशतिर ।
बाले बुनेको भकारी लिपेर
जोगाइराख्न अनदीका मुरी धान
थाकेर फर्कने सन्तानलाई खाजा ।
बा गएपछि आमालाई हतार छ
बाको स्वर्ग सिँघार्न ।
म भने भुइँमा खोजिरहेछु
आमाको स्वर्ग ।

