यो जोडी ढुकुर
प्रेमले भरिएको तन्तु चुच्चोमा लिएर
खोजिरहेछ एउटा छुट्टै ठाउँ ।
अन्त्यमा, एउटा परित्यक्त बारीको
सबैभन्दा अग्लो रुखको धोद्रोमा
चरा जोडीले गुँड बनाएका छन्
धेरै टाढा होहल्लाबाट
मानिसहरूबाट, आधुनिकताबाट ।
प्रेमले माक्माकुर गर्दै ढुकुरनीले भनी
“साँझ पर्दा मलाई एक्लै नछोड्नु है !”
बितेका कुराहरू सपनामा पनि सम्झन चाहँदैनन्
आँधी-हुरीले उडाएको अतीतलाई बिर्सेर
भविष्य देख्ने जोडी भरोसाले कुराकानी गर्छन्
केही दिनपछि जिम्मेवारी बढ्नेछ ।
सपना लेख्दै र रङ्गीन सपना गुथ्दै
ओथारो बसिरहेकी ढुकुरनीले तल कसैले बोलेको सुनी
“हेर बाबु ! यो रुखको काठको गिँड धेरै लायकिलो हुनेछ
छिप्पिएको सोझो रुख पाउन गाह्रो छ
यसले हामी घरको चौकोस बनाउनेछौँ ।”
सोझो रुखको छोटो आयु हुने कुरो
सोझो बाटो, सोझो कुराकानी धरापिलो हुने बारेमा
ढुकुरलाई थाहा थिएन कल्पना पनि गरेको थिएन।
अग्लो हुनुको अर्थ आकाश होइन
आकाश भनेकै सुरक्षा होइन ।
दिशाहारा चरा जोडीले कम्पित चुच्चोले
मानिसको चित्र कोर्दै
गुँडका अण्डाहरूतिर एकटकले हेरिरहे ।
मूल असमिया: जुनु बुढ़ागोहाइँ नाथ
अनुवाद: डा. देवेन सापकोटा

