हो
हाम्रो सुरुवात पनि
मेरो डायरीका पानामा
कैद भएका शब्दहरू जस्तै छन् ।
सम्झना छन्, तर स्वतन्त्र छैनन्
मुटुको कारागारभित्र कैदी बनेर बसेका छन् ।
सुरुवात न त तिम्रो थियो
न त मेरो ।
त्यो त समयको थियो
जो बुझाइसँगै बढ्दै गयो
र हामीलाई पनि आफ्नै गतिमा
अगाडि बगाउँदै गयो ।
मध्य कथा तिमी चन्द्रमा थियौ
सुन्दर, शान्त, तर सधैँ टाढा ।
म सूर्य थिएँ
जल्दै, चम्किँदै
तर कहिल्यै आराम नपाउने ।
हामी एउटै आकाशमा थियौँ
तर एउटै संसारमा थिएनौँ ।
तर सत्य के हो भने
दिनलाई सूर्य चाहिन्छ र रातलाई चन्द्रमा
हामी दुई फरक छौँ
तर अपूर्ण पनि एक अर्काविनै।
अन्त्य त्यसैले यो अन्तिम पत्र हो ।
अन्तिम प्रयास होइन
अन्तिम सत्य हो ।
सबै कुरा छुट्नकै लागि बनेका हुन्छन् ।
जसरी बच्चाले आफ्नो आमाको काख छोड्छ
जसरी साथीहरूले कलेज पढेपछि
आफ्नो साथ र सम्झनाहरू छोड्छन्
जसरी चिया खानेले आफ्नो अड्डा छोड्छ
त्यसरी नै हामी पनि छुट्यौँ ।
न झगडाले, न घृणाले
केवल समयले ।
यो हार वा दोष होइन
यो वास्तविकता स्वीकार गर्ने साहस हो ।
केही सम्बन्ध साथ हुन जन्मन्छन्
र केही सम्झना भएर रहन्छन् ।
अन्त्य भने अझ लेखिएको छैन
सायद समयले लेख्नेछ
सायद हामीले
वा सायद यो कथा आफैँले लेख्नेछ ।

