साहित्यपोस्ट डट कम

कविता: सुन्दरी र प्रेम …

कविता: सुन्दरी र प्रेम …

ओ सुन्दरी !

म तिमीलाई असाध्यै प्रेम गर्छु

जसरी सौन्दर्यले हिमाललाई प्रेम गर्छ

जसरी गतिले नदीलाई प्रेम गर्छ

जसरी बादलले बर्षातलाई प्रेम गर्छ ।

ओ रूपवती,

म तिमीलाई असाध्यै प्रेम गर्छु।

प्रेम गर्नु व्यापार होइन,

जसरी आस्थाको व्यापार हुन्छ ।

राजनीतिमा प्रेम गर्नु दलाली होइन,

जसरी सम्मानित अदालतमा

न्यायको दलाली हुन्छ ।

प्रेम गर्नु चाकडी पनि होइन,

जसरी राष्ट्रसेवक कहलिएका

शक्ति–केन्द्रको चाकडी गर्छन् ।

उहिले श्रमिकको हाड घोटेर

शाहजँहाले ताजमहल बनायो

र प्रेमिकालाई कैद गर्‍यो

दरबारमा कसैले लेख्यो कविता ?

र प्रेमिकालाई गीत बनायो

पटक्कै मन परेन मलाई !

त्यो दरबार र फाल्तु लाग्ने गीत !

प्रेम गर्नु भनेको

विचारको सम्मान गर्नु हो

तिमीले लेखेका कविताझैं

सुन्दर आदर्शको अनुसरण गर्नु हो

स्वयम् तिमीले

पक्रिएको उज्यालोको आलोकलाई

बचाइराख्नु हो !

ओ सुन्दरी !

म तिमीलाई असाध्यै प्रेम गर्छु !

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.