साहित्यपोस्ट डट कम

कविता : स्थगित मृत्यु

कविता : स्थगित मृत्यु

फूलमाया !

किन कान्तिविहीन

छ चन्द्रमुखी मुहार ?

दुनियाँ खुसी

बनाउने औषधीझैँ

तिम्रो एक

मुस्कान हाँसो

राज्यको बागडोर

घडाबाट

क्रान्तिको बिगुल

फुक्ने तिम्रो आवाज

सामन्तीका ढाड

टेकेर

शिर छेदन गर्ने

तिम्रा हातले

अँह, समाउन

मिल्दैन यो कायरताको डोरी

पाउँदिनौ हार्न

जल्लादहरूबाट

पाउँदिनौ भाग्न

राता अक्षरमा

देश रङ्ग्याउने रगत मुटुमा बोकेर

कलङ्कका शिर गिँड्ने हातले

मृत्युवरणको पासो बोक्न ।

फूलमाया !

यी जुकाका दासीहरूको मात्र होइन देश

तिमी त युगीन पुरुषकी वीरङ्गना छोरी हौ

कर्तुतका काला पर्खाल ढालेर

समताको सुनगाभा फुलाउने

विचारकी खम्बा हौ ।

अहँ, अलिकति मन विचलित हुँदैमा

आफैँ नाश भएर जाने ईश्वरको भूललाई

किन रोजिरहेछन्

तिमीजस्ता युवाहरूले

कायरताको बाटो ?

भर्भाउँदो भुङ्ग्रोमा हामफालेर

उत्रने बेला आएको छ अब

पासो लाउने डोरी नाम्लाले

पाता फर्काएर हिंस्रक पशुहरूको छाला उतारी

बेला आएको छ नुनचुक छर्किने ।

सोध्न बाँकी नै छ अन्तिम पटक

टुँडिखेलमा गएर श्रीमहाराजलाई

न्याय दिन्छौ कि

सामूहिक योगमाया बनौँ सरकार ?

ढुसी पलाएका न्यायका निर्जीव तराजु ब्युँताएर

बाँकी नै छ न्यायको मूर्तिमा सास भर्न

बाँकी नै छ

टुँडिखेलबिच सीधा भ्रष्टाचारी झुन्ड्याउन

बाँकी नै छ

जातीय अहङ्कारका कङ्कालहरूको

नपुंसक गिदीलाई छिनालेर बगाउन

………. छन् अझै थुप्रै बाँकी पर्महरू तिर्न ।

फूलमाया !

कसले गर्छ उल्लेखित बाँकी विमर्श ?

कसले लेख्छ नारी एकता समताका वाणी ?

कसले गाउँछ महासमरका गीत ?

कसले ठड्याउँछ पातकी काजीलाई औँला ?

कसले हाल्छ घेरा

कर्तुतका जालाले ढाकेका न्यायालयमा

निर्मला र नवराजहरूजस्ताका

मृत्युको प्रमाणीकरण खोज्दै !

बाँकी नै छ अज्ञात इतिहास लेख्न

बाँकी नै छ

सोलु सल्लेरी र साँगुरी भञ्ज्याङमा

रगतका छिर्काले अरुण रङ्ग्याएको कथा लेख्न

बाँकी नै छ

शहीदका आकाङ्क्षा पूरा गर्न

राज्यले मानसिक स्वास्थ्य गुमाए पनि

सवलाङ्ग छ अझै तिम्रो विचार

अब आत्महत्या होइन

आत्मसाहस लिएर उठ

फैलाऊ सबैलाई

परिवर्तनका झिल्काको सन्देश

हो फूलमाया !

स्थगित गर अब आत्ममृत्यु

किनकि तिमीभन्दा पहिल्यै

मृत्यु भइसकेको छ न्याय र राज्यको मृत्यु

त्यसैले

मरणको भन्दा जीवनको खाँचो छ अब देशलाई ।।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.