अर्कै दिशातिर
आजदेखि कोरिनेछन्
पाइलाका छापहरू।
हिजोसम्म जुन माटोमा
मेरो नाम लेखिएको थियो
आज त्यहाँ अर्कैको स्वामित्वको
घाम लाग्नेछ ।
बाटो अलि फरक हुँदैछ
अलि अपरिचित, अलि चिसो ।
जहाँ म त हिँड्दै छु
तर मेरा छायाहरू
पुरानै घरको चौखटमा
अल्झिएर बसेका छन् ।
हिजोसम्म
मलाई डोर्याउने ती हातहरू
आत्मीय स्पर्श र भरोसाका
अग्ला पहाडहरू
आज कतै टाढा
एउटा मौन किनारामा
उभिएका छन् ।
अब
म र उनीहरूबीचको दूरी
मिटरमा होइन
समय र विवशताको
एउटा विशाल खाडलले
नापिनेछ ।
घरभित्र छिर्दा अचेल
शून्यताले मलाई नै
प्रश्न गर्छ
“यो रिक्तता
तिमीले छोडेको हो
कि
समयले ल्याएको?”
जुन भित्ताहरूमा
कुनै बेला हाँसोका फूलहरू फुल्थे
जहाँका कुना–कुनाहरू
हाम्रा कुराकानीले
जीवन्त हुन्थे
आज ती भित्ताहरू
मौनताको बाक्लो लेपले
सजिएका छन् ।
इँटाहरू त उही हुन्
तर
तिनको बोली हराएको छ ।
झ्यालहरू त उही हुन्
तर
तिनले देखाउने संसार
फेरिएको छ ।
परदेश जानु भनेको
केवल ठेगाना बदल्नु
मात्र कहाँ रहेछ र ?
यो त
आफूले आफैँलाई
एउटा जीवन्त इतिहासबाट
उखेल्नु रहेछ ।
आँगनको
त्यो तुलसीको मठमा
मेरो बाल्यकाल छुटेको छ
कतिपय सपनाहरू
बगेर गएका छन्
बलेसीको पानीसँगै ।
अब
नयाँ घरका भित्ताहरूमा
तस्बिरहरू त टाँगिएलान्
तर
मेरो मनको मौनतालाई
चिन्न सक्लान् र ती भित्ताहरूले ?
झोलाभरि
सामान त अटाए
तर अटाएन
मनको भारी
जुन
जति टाढा लग्यो
उति नै
पुरानो जगतिर तानिरहन्छ।
बाटो साँच्चै
फरक भएको छ
एकातिर नयाँ संसार,
अर्कोतिर
रित्तो भएको घरको
अन्धकार
बोलाइरहेछ ।

