साहित्यपोस्ट डट कम

कविता : सिउँडी, लुसिफर र भुइँमान्छे

कविता : सिउँडी, लुसिफर र भुइँमान्छे

न ढोकामा, न दलानमा

न श्रद्धामा, न त श्राद्धमा

न कसैको शिरमा

बेखबर एक फूल बिना छल पहरा दिइरहेछ ।

न माग छ न त गुनासो

क्षण–क्षण आफैँ पिल्सिएर रखवारी गरिरहेछ घरको ।

ऊ सिउँडी

ऊ भाँचिन्छ पटक–पटक मलम बन्न

ऊ चुँडिन्छ पल–पल ऐँजेरुहरू फ्याँक्न

ऊ ठिङ्ग उभिरहेछ न माग छ न त गुनासो

ऊ सिउँडी ।

म बिहानी हुँ ताराहरूको

जगत हँसाउने किरणहरूको ।

हो, मैले तिम्रो अवज्ञा गरेँ

तिम्रा आदेशहरूको अपहेलना गरेँ ।

मेरा उज्यालाहरू छोप्न

पाप र धर्मको कालो बादलभित्र

बेस्सरी मसान जगाएर, कालो पोत्यौ मेरो अनुहारमा ।

म लुसिफर

हो, म तिम्रो भष्मे सत्ताको विरोधी

तिमीले बनाएको कथित ग्रहगोचरको विरोधी

अलौकिक पाखण्डी नाचको विरोधी ।

मलाई ‘अजेय’ मन पर्छ

मलाई आगोको फिलिङ्गो मन पर्छ

मलाई क्रान्ति र परिवर्तनमा हुङ्कार लाग्छ ।

पोत अनुहारमा कालो रङ्ग

म मान्छेहरूको रापले सेकी तिम्रा सबै प्रतीकहरू

इसाई निष्कासित स्वर्गदूत ! (पश्चिममा)

यहुदी भगवान्‌को शत्रु ! (मध्यपूर्व र पश्चिममा)

इस्लाम भगवान्‌को अवज्ञाकर्ता ! (मध्यपूर्वमा)

बौद्ध अहङ्कारले ग्रस्त चेतना ! (पूर्व एसियामा)

हिन्दू रावण वा देव अवतारहरूको विरोधी ! (दक्षिण एसियामा)

भाँच्दै–टुक्र्याउँदै–तोड्दै अजेय यात्रामा लम्किरहेछु

म लुसिफर ।

म सानो मान्छे !

तिम्रो पाइलामुनिको मान्छे ?

अर्थात् म भुइँमान्छे !

के मेरो कुनै आकार छैन ?

के मेरो सामर्थ्यमा हिँड्न पाउन्नँ र ?

कि मलाई मेरो लागि स्व–निर्णय गर्ने छुट छैन ?

अर्थात् म ‘बेदागी’ हुँ भन्न पाउन्नँ ?

मेरा क्षमता र सामर्थ्य— अर्थात् उज्याला किरणहरूले पोल्छ ?

खबरदार !

मलाई ‘म’ बन्न दिनुहोस्,

म सिउँडी, लुसिफर र भुइँमान्छे हुँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.