भुस, तोरी र माया खाँदेर
आमाले मिलाएको सिरानीमा
बाल्यकालदेखि नै बानी परेको म
जब महँगा होटलमा पुग्छु
एउटै तनाव सिरानीकै हुन्छ ।
किनकि
त्यो कहिले अस्वाभाविक अग्लो हुन्छ
कहिले टाउको नराख्दै थचक्कै बस्छ
कहिले कपासभन्दा लचकदार लाग्छ
त कहिले न्युटनको तेस्रो नियमले ठेलेझैँ
कडा, विपरीत र घोचुवा हुन्छ !
कतै अनौठो ‘बजारी’ बासना, त कतै चिसो ढुसी गनाउने बिरानोपन ।
लाखौँको आलिसान कोठामा सबै थोक त मिलेकै हुन्छ
नमिल्ने त्यही एउटा सिरानी हुन्छ ।
हो, केही गरी नमिल्ने ।
सितिमिति हार नमान्ने म, सधैँ मेलमिलाप खोज्ने म
हरप्रयासले मिलाउन खोज्छु
मायाले मुसार्छु
नभएपछि रिसले पछार्छु ।
तर, अहँ !
मेरो शिर र त्यसको शरीर कदापि मिल्दैनन् ।
मध्यरातसम्म
म प्रसव पीडाको छटपटीमा अबोध बालकको जन्म पर्खिएकी
गर्भवतीझैँ
निद्रा जन्माउने एउटा सशक्त युद्धमा हुन्छु ।
अफसोस ! अन्तिम युद्ध हार्दै
ज्यान जोगाउन कुलेलाम ठोकेको घाइते सिपाहीझैँ
लुसुक्क युद्धमैदान छोडेर बाथरुम पुग्छु ।
सहाराको याचनाले चारैतिर आँखा डुलाउँछु
अनि फेला परेका दुई थान तौलिया बोकेर फर्किन्छु फेरि त्यही
मैदानमा ।
युद्ध जित्ने झिनो आशा बोकेर
‘ब्रह्मास्त्र’को अन्तिम प्रयासमा तिनै तौलिया पट्याउँछु, थपथपाउँछु
र आफैँले लगाएको मयलपोसले सुटुक्क बेरिदिन्छु ।
आहा ! पसिना र आत्मीयताले बेरिएर पो हो कि
आमाले बनाइदिएजस्तै त्यो ‘आफ्नो’ बन्छ ।
न अग्लो, न होचो, न सारो, न गाह्रो !
आफ्नै सुगन्धको, मुलायम र भरपर्दो ।
घाँटी र टाउकोको सानो खाडलमा जब त्यो ठ्याक्कै मिल्छ
अनि लोलाउँछन् आँखाहरू र अबोध निद्राको जन्मसँगै
प्रसव पीडा र छटपटीको सुखद अन्त्य हुन्छ ।
एउटा कठिन युद्ध समाप्तिको मौन घोषणा हुन्छ ।
आज लाग्दैछ यो सिङ्गो जिन्दगी त
त्यही ‘सिरानी’ मिलाउने खेल पो रहेछ !
यता मिलाउँदा उता नमिल्ने, उता मिलाउँदा यता नमिल्ने ।
सुख मिलाउँदा दुःख बल्झिने, दुःख मिलाउँदा सुख बल्झिने ।
धन मिलाउँदा मन नमिल्ने, मन मिलाउँदा धन नमिल्ने।
आफ्ना मिलाउँदा पराइ तर्सिने, पराइ मिल्दा आफ्ना तर्सिने ।
हो, मेलमिलापको यस्तै चाकाचुली खेल्दै
जुन दिन सबै थोक मिलेजस्तो हुन्छ नि
त्यही दिन जुर्नेछ एउटा शुभसाइत
कहिल्यै नब्युँझिने गहिरो चिरनिद्राको !

