साहित्यपोस्ट डट कम

कविता : सिरक र म

कविता : सिरक र म

सुकिला दिनहरूसँग मिसिँदै

अप्रत्याशित आएझैँ लागेको जाडोलाई

मनमनै मन फुकाएर

धेरैले गाली गरेका छन्

मैले पनि गरेकी छु।

तर यस्ता गालीले छुँदैन त्यसलाई,

केही बित्दैन त्यसको।

उसमाथि कठोर र निष्ठुर जाडोसँग

करुणा हुँदैन

एकोहोरो छ, मनमानी गर्छ

कसैलाई मन परोस्, नपरोस्।

जाडो यामभरि

पुरानो सिरकको भारीमुनि

असरल्ल अन्तहीन योजनाहरू

चुहिएको टुटी, झ्यालको जाली, पुरानो कार्पेट

बनाउने, किन्ने

एकपछि अर्को थुप्रिन्छन्, थुप्रिरहन्छन्

मनभित्र यताउता गुजुल्टोमा जेलिँदै।

न्यानो सिरकबाहिर

जमिरहेको चिसो आँट

जुर्मुराउने जाँगर

न ममा छ, न कुनै योजना कार्यान्वयन हुन्छ।

तैपनि

नित्य नयाँ बनिरहन्छन्

बुनिइरहन्छन्

सिलिङको एक कुनादेखि अर्को कुनासम्म पुग्दै, फर्कँदै।

धुम्मिएको दिनभरि

तात्न नसकेको कोठा

बिग्रिएको हिटर र नलागेको घाम।

गालीसँग गुनासाहरू खप्टिएर

जाडोलाई सराप्दै

म सिरकलाई तानिरहन्छु

सिरकले मलाई।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.