साहित्यपोस्ट डट कम

कविता : सिंहदरबार बजेट बनाउँछ

कविता : सिंहदरबार बजेट बनाउँछ

सिंहदरबार बजेट बनाउँछ

त्यो कलात्मक थियो

कलाले भरिएको

बुट्टेदार सङ्गमर्मर ओछ्याइएको

अनौठो कौतूहलपूर्ण

सिंहदरबार ।

मौरीको भुनभुन

परेवाहरूको क्रीडास्थल

कयौँ अपूर्व दृश्यहरू

आँखामा सल्बलाउँछन् आज पनि

सबैसबै असिना बिलाए जसरी

स्मृतिपटबाट बिलाए ।

अहिले सिंहदरबार

आफूलाई सिंह सम्झेर

बेलाबेलामा अँध्यारा

कोठरीबाट गर्जन छोड्छ

अहङ्कारको राग ओकल्छ

कालो चस्मा लगाउँछ,

अँध्यारोमा बस्न रुचाउँछ

सिंहदरबार फाली फुस्किएको

हलो जस्तो छ ।

सिंहदरबार डिप्रेसनमा छ

साँझमै सुत्छ

रातमा छटपटाउँछ

घटघटी पानी पिए पनि

उसको प्यास मेटिँदैन ।

सिंहदरबार

सिर्जना फुलाउन सक्दैन

पत्थरको मस्तिष्क बोकेर बाँचेको छ ।

सिंहदरबार अध्ययन रुचाउँदैन

त्यो अक्षरमा निरक्षर छ ।

पोल्टो थाप्छ, हात पसार्छ

हाम्रा छोराछोरीका लागि

कन्सल्टेन्सी खोलिदिन्छ

विदेश पठाउँछ र

रेमिट्यान्सले चुरोट सल्काएर

धुवाँ उडाउँछ ।

सिंहदरबार आफ्नै संसारमा बाँचेको छ ।

सचेत छु भन्छ अचेतका कुरा गर्छ

हाम्रो ढाडमा भाटा हान्छ

ऊ सुरक्षा घेरामा बस्छ ।

सिंहदरबारको दृष्टि छैन

दूरदृष्टिका कुरा गर्छ

सिंहदरबारको गति छैन

गन्तव्यको खाका कोर्छ

सिंहदरबारले

गाउँगाउँमा सिंहदरबार भन्यो

गाउँमा घरबार भेटिँदैन

कहाँ भेटिन्छ सिंहदरबार ?

सिंहदरबार नपढेरै

कानुन बनाउँछ

सरकार बनाउँछ

विकासलाई बजेट छुट्याउँछ

कहिले खन्छ कहिले पुर्छ

उसले वरको सिन्को पर सार्न

सिक्दासिक्दै

एक वर्षको बजेट कता हराउँछ !

त्यसैले त वर्षैपिच्छे बजेट खोज्न

सिंहदरबार बजेट बनाउँछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.