सिंहदरबार बजेट बनाउँछ
त्यो कलात्मक थियो
कलाले भरिएको
बुट्टेदार सङ्गमर्मर ओछ्याइएको
अनौठो कौतूहलपूर्ण
सिंहदरबार ।
मौरीको भुनभुन
परेवाहरूको क्रीडास्थल
कयौँ अपूर्व दृश्यहरू
आँखामा सल्बलाउँछन् आज पनि
सबैसबै असिना बिलाए जसरी
स्मृतिपटबाट बिलाए ।
अहिले सिंहदरबार
आफूलाई सिंह सम्झेर
बेलाबेलामा अँध्यारा
कोठरीबाट गर्जन छोड्छ
अहङ्कारको राग ओकल्छ
कालो चस्मा लगाउँछ,
अँध्यारोमा बस्न रुचाउँछ
सिंहदरबार फाली फुस्किएको
हलो जस्तो छ ।
सिंहदरबार डिप्रेसनमा छ
साँझमै सुत्छ
रातमा छटपटाउँछ
घटघटी पानी पिए पनि
उसको प्यास मेटिँदैन ।
सिंहदरबार
सिर्जना फुलाउन सक्दैन
पत्थरको मस्तिष्क बोकेर बाँचेको छ ।
सिंहदरबार अध्ययन रुचाउँदैन
त्यो अक्षरमा निरक्षर छ ।
पोल्टो थाप्छ, हात पसार्छ
हाम्रा छोराछोरीका लागि
कन्सल्टेन्सी खोलिदिन्छ
विदेश पठाउँछ र
रेमिट्यान्सले चुरोट सल्काएर
धुवाँ उडाउँछ ।
सिंहदरबार आफ्नै संसारमा बाँचेको छ ।
सचेत छु भन्छ अचेतका कुरा गर्छ
हाम्रो ढाडमा भाटा हान्छ
ऊ सुरक्षा घेरामा बस्छ ।
सिंहदरबारको दृष्टि छैन
दूरदृष्टिका कुरा गर्छ
सिंहदरबारको गति छैन
गन्तव्यको खाका कोर्छ
सिंहदरबारले
गाउँगाउँमा सिंहदरबार भन्यो
गाउँमा घरबार भेटिँदैन
कहाँ भेटिन्छ सिंहदरबार ?
सिंहदरबार नपढेरै
कानुन बनाउँछ
सरकार बनाउँछ
विकासलाई बजेट छुट्याउँछ
कहिले खन्छ कहिले पुर्छ
उसले वरको सिन्को पर सार्न
सिक्दासिक्दै
एक वर्षको बजेट कता हराउँछ !
त्यसैले त वर्षैपिच्छे बजेट खोज्न
सिंहदरबार बजेट बनाउँछ ।

