बाबुले आमाको सिन्दुर खोसेर
मृत्युलाई अँगालो हालेको महिना नपुग्दै
छिमेकी काकी चुराको आवाज झुन्ड्याएर
मेरो घरको दैलो नाघ्छिन्
“दिदी, मेरो पोते चुँडियो गाँसिदिनु न है!”
बैँसैमा सेतो फेरोले बाँधिएकी आमा
अरूको रातो आफ्ना हातले गाँस्छिन्
आफ्नो मन कहिले चुँडियो
कसले गाँस्यो
इतिहास मौन छ ।
दोस्रो महिनामै घरको बारी आफैँ सर्दै जान्छ
ढुङ्गा खस्किन्छ, साँध हराउँछ
आकाश नजिकिएझैँ लाग्छ ।
म सोध्छु
“आमा, हाम्रो आँगन किन साँघुरिँदै छ?”
आमाले मनको भग्नावशेष मिलाउँदै भन्छिन्
“छोरी, घरको मुख्य खाँबो ढलेपछि छाया पनि आश्रय खोज्छ।”
म गन्दै जान्छु
बाबु मरेपछि के–के जिउँदै गाडियो भनेर ।
छिमेकको अपनत्व, आफन्तको पाइला
चाडको रौनक, गाउँलेले गर्ने व्यवहार
नाम त सबैभन्दा पहिले मारियो
विधवा, राँडी, पोई–टोकुवा र अन्ततः बोक्सी !
बाबु मरेपछि आमा जिउँदै बोक्सी बनिछिन्।
गाउँमा कोही बिरामी परे
दोष आमाको सासमा टाँसियो
भैँसीले दूध नदिँदा मेरो घरको तगारोमा
खुर्सानीको राग पड्काइयो ।
म सोध्थेँ
“आमा, तिमी किन सधैँ बिरामी?”
आमाले आँसु ननिस्किने गरी निल्दै भनिन्
“छोरी, मेरो आँखै लागेछ रे!”
त्यही दिन म छोरी भएर उभिएँ ।
सिन्दुर खोसिएको दिन विधवा बनाउने मृत्यु हो
तर बोक्सी बनाउने तिमीहरू !
सम्झिराख गाउँ
मेरी आमा तिमीहरूको चुप्पीमा
चोट सहेर बाँचेकी हुन्
म अब त्यो चुप्पी विरुद्ध बोल्ने आवाज हुँ ।

