साहित्यपोस्ट डट कम

कविता : सीमान्त बाध्यता

कविता : सीमान्त बाध्यता

खकनले कसेर बोकेको-

ढाकरभरिको रहर बिसाउने चौतारी नै भत्किएपछि,

अब टेकुवाको भरमा

सपना ब्यूँझाउन हम्मेहम्मे छ

यो आदिवासी ठिटोलाई ।

अनकन्टार सपनाका थुम्काहरू छिचोल्न,

वर्षौंदेखि पुस्तकका पानामा

सुस्ताएको त्यो गुलाफलाई

सिरानीमाथिको खोपामा सुटुक्क थन्काएर-

फेरि एकपटक लाहुर निस्कनु छ ।

उता, एकान्त वनको गोठालो जाँदा

प्रियसीको चौबन्दीका तुनाहरूमा अल्झिएको-

त्यो मुर्चुङ्गा र विनायोको बाँकी धुन सम्झिदै,

यता बिरानो भुईंमा कठोर परेड खेल्नु छ ।

मुलुकको भान्सेले पस्किएको

विभेदको भागबण्डामा

आफ्नै ‘हिस्सा रित्तिएपछि,

भोको पेटको सार‌ङ्गी रेटिंदै निस्कने धुन बोकेर

पराइ भूमिमा उज्यालो नहुँदै झोला भिर्नु छ ।

‘बहादुर को तक्मा भिरेरै भए पनि

आफन्तको शिरमा

एक थुंगा खुसी सिउरिनु छ ।

उता जस्तो सुकै होस्-

भित्ते ओडार र पाखा पखेराको आवाज गुन्जिरहँदा,

प्रियसीको सम्झनामा ओठ लेब्याउँदै-

आफ्नै देशको मानचित्र छातीमा टाँस्नु छ ।

म आदिवासी ठिटो !

तिमी मलाई ‘मतवाली भन या ‘सीमान्तकृत,

म जहाँ उभिन्छु, त्यहींबाट-

तस्बिरकै ऐनाभित्र हिमाल नियाल्दै

आफ्नै माटोको सुगन्ध रोप्नेछु ।

मुर्चुङ्गाको सुरिलो ताल र

प्रियसीको मुस्कान अँगालेर,

यतिखेर-

परदेशको मरुभूमिमा उभिनु नै नियति बनेको छ,

यो आदिवासी ठिटोको ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.