खकनले कसेर बोकेको-
ढाकरभरिको रहर बिसाउने चौतारी नै भत्किएपछि,
अब टेकुवाको भरमा
सपना ब्यूँझाउन हम्मेहम्मे छ
यो आदिवासी ठिटोलाई ।
अनकन्टार सपनाका थुम्काहरू छिचोल्न,
वर्षौंदेखि पुस्तकका पानामा
सुस्ताएको त्यो गुलाफलाई
सिरानीमाथिको खोपामा सुटुक्क थन्काएर-
फेरि एकपटक लाहुर निस्कनु छ ।
उता, एकान्त वनको गोठालो जाँदा
प्रियसीको चौबन्दीका तुनाहरूमा अल्झिएको-
त्यो मुर्चुङ्गा र विनायोको बाँकी धुन सम्झिदै,
यता बिरानो भुईंमा कठोर परेड खेल्नु छ ।
मुलुकको भान्सेले पस्किएको
विभेदको भागबण्डामा
आफ्नै ‘हिस्सा रित्तिएपछि,
भोको पेटको सारङ्गी रेटिंदै निस्कने धुन बोकेर
पराइ भूमिमा उज्यालो नहुँदै झोला भिर्नु छ ।
‘बहादुर को तक्मा भिरेरै भए पनि
आफन्तको शिरमा
एक थुंगा खुसी सिउरिनु छ ।
उता जस्तो सुकै होस्-
भित्ते ओडार र पाखा पखेराको आवाज गुन्जिरहँदा,
प्रियसीको सम्झनामा ओठ लेब्याउँदै-
आफ्नै देशको मानचित्र छातीमा टाँस्नु छ ।
म आदिवासी ठिटो !
तिमी मलाई ‘मतवाली भन या ‘सीमान्तकृत,
म जहाँ उभिन्छु, त्यहींबाट-
तस्बिरकै ऐनाभित्र हिमाल नियाल्दै
आफ्नै माटोको सुगन्ध रोप्नेछु ।
मुर्चुङ्गाको सुरिलो ताल र
प्रियसीको मुस्कान अँगालेर,
यतिखेर-
परदेशको मरुभूमिमा उभिनु नै नियति बनेको छ,
यो आदिवासी ठिटोको ।

