साहित्यपोस्ट डट कम

कविता : श्रमिकको भरोसा

कविता : श्रमिकको भरोसा

भोकले श्रम गर भन्यो

खाडीमा श्रमिक बनेँ

श्रमिक भएपछि श्रम गरेँ

श्रमिक बनेपछि लाज हरायो

हात–खुट्टा फोहोर थिए

पसिना गनाउँदै थियो

श्रमपछि नुवाइधुवाइ गरेँ

आफैँलाई ऐनामा हेरेँ

शरीर चिटिक्क पर्यो

भोकसँग लड्न

श्रमिक बन्ने रहर बढ्यो।

परदेशमा श्रम गर्दागर्दै

आकाशमा बम पड्कियो

भुइँबाट आकाशतिर हेरेँ

उड्नलाई पखेटा थिएन

आँसु बगाउन मसँग परिवार थिएन

सुख्खसँग बसेका परिवारलाई

युद्ध हुँदै छ यहाँ भनेर सुनाउन सकिनँ ।

खाडीमा बम पड्किए पनि

युद्ध चर्किए पनि

आगोको मुस्लो दन्किए पनि

मसँग विकल्प छैन

विदेशमा अप्ठ्यारो पर्दा

कहिल्यै थाहा हुँदैन

मेरो देशमा सरकार छ कि छैन ।

मेरो देशमा सरकार छ, छैन

खाडीमा सरकार छ

यहाँको सरकारलाई

श्रमिकको दरकार छ

बम नै पड्किए पनि

सुरक्षा दिन्छ भन्ने

श्रमिकलाई भरोसा छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.