साहित्यपोस्ट डट कम

कविता : शरीरका पीडामा

कविता : शरीरका पीडामा

पाइताला,

जसमा धुलो र काँडाहरू मिसिएर

परिश्रम र पसिना थपिएर,

कोरेको थियो मानिसले बाटो ।

जुन बाटोमा दुःख थियो, र दिशा पनि ।

थकाइले झम्किँदा सोच्थेँ

यी हड्डी र मासुमा

कति कथा बसेका होलान् इतिहासका ?

आमाको गर्भदेखि अहिलेसम्म

कति पटक म

ठोकिने मान्छे बनेँ होला ?

हातमा बचेका रेखाहरू जस्तै छन्

विभाजनका नक्सा ।

धेरै पटक म आफैँभित्र फुटेँ

कहिले वर्गमा, कहिले धर्ममा

कहिले आफ्नो मनकै नसोचिएको छेउमा ।

तर हृदय भने थाक्दैन

अझै खोज्दै छ एउटा मान्छे

जो मान्छे हुन नडराओस्

जो हारेको शरीरमा पनि

एउटा सुन्दर आत्मा देखोस् ।

खुट्टाले हिँड्ने बाटो

र शरीरले बोकेको पीडा

दुवै मेरो कविता बनेका छन्

किनभने म अझै बाँच्न चाहन्छु

विभाजन होइन

मिलनको अर्थ लेख्न ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.