साहित्यपोस्ट डट कम

कविता : शपथ

कविता : शपथ

सुकिला दौरा–सुरुवाल लगाएर शपथ खाए पनि

इज्जत र प्रतिष्ठा धमिलो बनाएको देखेको छु ।

शिर ठाडो बनाएर शपथ खाए पनि

नाकै काटेर हिँडेको देखेको छु ।

ईश्वरको नाममा शपथ लिए पनि

मनमा हरि नभएको देखेको छु ।

मान्छेलाई साक्षी राखेर शपथ खाए पनि

मान्छेलाई मान्छे नै नगनेको देखेको छु ।

राष्ट्रको नाममा शपथ लिए पनि

देशै बेच्न खोजेको देखेको छु ।

जनताको नाममा शपथ लिए पनि

दुःखीलाई धरधरी रुवाएको देखेको छु ।

सदाचारको प्रतिज्ञा हो भनेको सुनेको थिएँ

शपथ ढोँग र भोगको कर्मकाण्ड भएको देखेको छु ।

शब्दमा शक्ति हुन्छ भन्ने सुनेको थिएँ

शपथ फगत सुगा–रटाइ भएको देखेको छु ।

हिजोका शपथ मसीले लेखिएका थिए

आज तिम्रो शपथ रगतले लेखिएको छ ।

सहिदलाई सम्झेर खाएको कसम

भोलि यसै खेर नजाओस् भन्ने ठानेको छु ।

इतिहास फेरिने चिज हो भन्ने बुझेको छु

हिजो र आज एउटै होइन भन्ने जानेको छु ।

खै, कस्तो शपथ खाएका छौ तिमीले

आँखा नझिम्क्याई हेरेर बसेको छु ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.