साहित्यपोस्ट डट कम

कविता : शबरीको जुठो बयर

कविता : शबरीको जुठो बयर

यो आम्खोराको पानी मैले छोइसकेँ

तिमीले यसलाई नपिउनु ।

किन थुन्छौ दैलो ?

मलाई थाहा छ

मैले टेक्ने अन्तिम रेखा कहाँ छ ।

तिम्रो कुवामा पनि जान छोडेँ मैले

भनिदेऊ गाग्रो भर्नेहरूलाई

अब तिम्रो पानी सधैँ शुद्ध हुन्छ ।

मैले जहाँ–जहाँ छुन्छु

त्यहाँ सुनपानी छरिन्छ

पँधेरोमा मेरो गाग्रोले

पालो कुर्दाकुर्दा साँझ खस्छ

खुड्किलोमा मेरो पदचाप सुनेर

तिम्रो मन्दिरको ढोका खट्खटिन्छ

र मलाई देख्नासाथ

हतार–हतार ढोका बन्द हुन्छ ।

के छ ममा त्यस्तो विषाक्त ?

के छैन मसित जुन तिमीसित छ ?

थाहा छ

सदियौँदेखि तिम्रो पुर्पुरोमा

द्रोणाचार्यहरू सभा डाकिरहन्छन्

र एकलव्यहरूको औँला माग्न

कुटनीतिहरू केलाइरहन्छन् ।

उता फेरि

तपस्या गर्न निषेधित रामायणका ‘शम्बूक’हरू

लुकी–लुकी तपोवन पस्छन्

अर्कोतिर

बयरको झ्याङमा उभिएर ‘शबरी’हरू

जुठो बयर हातमा लिई

‘राम’हरूलाई पर्खिरहन्छन् ।

के छ तिमी र ममा त्यस्तो फरक ?

के छ तिमीमा जुन ममा छैन ?

सदियौँदेखि यो बस्तीमा मान्छे जन्मँदैन

जात जन्मन्छ

जन्मसँगै नसा–नसामा

नश्लको ‘लेबल’ टाँसिन्छ ।

घाम त सबैको एउटै हो

किन उज्यालो फरक ?

किन म मात्र निथ्रुक्क झरीमा

तिमी सधैँ ओभानोमा ?

सुन

यदि मेरो देशले कुनै दिन

“दिन्छु, केही माग” भन्यो भने

एउटै कुरा म माग्छु

‘मेरो जात हटाइदेऊ’,

‘मेरो थर मेटाइदेऊ’;

ताकि

मान्छे–मान्छेको भिडमा

म मान्छे जस्तै मान्छे उभिन सकूँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.