यो आम्खोराको पानी मैले छोइसकेँ
तिमीले यसलाई नपिउनु ।
किन थुन्छौ दैलो ?
मलाई थाहा छ
मैले टेक्ने अन्तिम रेखा कहाँ छ ।
तिम्रो कुवामा पनि जान छोडेँ मैले
भनिदेऊ गाग्रो भर्नेहरूलाई
अब तिम्रो पानी सधैँ शुद्ध हुन्छ ।
मैले जहाँ–जहाँ छुन्छु
त्यहाँ सुनपानी छरिन्छ
पँधेरोमा मेरो गाग्रोले
पालो कुर्दाकुर्दा साँझ खस्छ
खुड्किलोमा मेरो पदचाप सुनेर
तिम्रो मन्दिरको ढोका खट्खटिन्छ
र मलाई देख्नासाथ
हतार–हतार ढोका बन्द हुन्छ ।
के छ ममा त्यस्तो विषाक्त ?
के छैन मसित जुन तिमीसित छ ?
थाहा छ
सदियौँदेखि तिम्रो पुर्पुरोमा
द्रोणाचार्यहरू सभा डाकिरहन्छन्
र एकलव्यहरूको औँला माग्न
कुटनीतिहरू केलाइरहन्छन् ।
उता फेरि
तपस्या गर्न निषेधित रामायणका ‘शम्बूक’हरू
लुकी–लुकी तपोवन पस्छन्
अर्कोतिर
बयरको झ्याङमा उभिएर ‘शबरी’हरू
जुठो बयर हातमा लिई
‘राम’हरूलाई पर्खिरहन्छन् ।
के छ तिमी र ममा त्यस्तो फरक ?
के छ तिमीमा जुन ममा छैन ?
सदियौँदेखि यो बस्तीमा मान्छे जन्मँदैन
जात जन्मन्छ
जन्मसँगै नसा–नसामा
नश्लको ‘लेबल’ टाँसिन्छ ।
घाम त सबैको एउटै हो
किन उज्यालो फरक ?
किन म मात्र निथ्रुक्क झरीमा
तिमी सधैँ ओभानोमा ?
सुन
यदि मेरो देशले कुनै दिन
“दिन्छु, केही माग” भन्यो भने
एउटै कुरा म माग्छु
‘मेरो जात हटाइदेऊ’,
‘मेरो थर मेटाइदेऊ’;
ताकि
मान्छे–मान्छेको भिडमा
म मान्छे जस्तै मान्छे उभिन सकूँ ।

