तिम्रो बाहिरी आवरणले मेरो आँखालाई मात्र तान्छ
मन तान्नलाई त हृदय चिरिनुपर्छ ।
बुद्धिको एक झिल्का मात्र मिले पनि
आँखाले निल्न नसकेका कुराहरू मेरो रगतमा घुल्छन्
घाउ बन्छन्, कहिल्यै निको हुँदैनन् ।
यो नक्कली र देखावटीको घाम चर्किएको संसारमा
यस्ता आत्मा विरलै भेटिन्छन्
मैले त आफैँलाई हराएको पनि धेरै वर्ष भइसक्यो
अरूले मलाई खोज्ने हिम्मत नै गरेनन्
गर्दैनन् पनि
सायद सधैँभरि नगरे पनि हुन्छ ।
पात, किरा, फट्याङ्ग्रा, खोलाको गीत, हिमालको मौनता
यी सबैमा म हराउन सक्छु, डुब्न सक्छु
एक्लै बसेर रेस्टुराँमा खान सक्छु
एक्लै सिनेमाघर पुगेर त्यहाँ हराउन सक्छु ।
तर तिम्रो आँखाको गहिराइमा
म हराउन सक्दिनँ डर लाग्छ ।
यदि दिमागको एउटा सानो कोठा पनि मिल्थ्यो भने
सायद तिम्रो मन पनि मेरो जस्तै कालो–सेतो मात्र हुन्थ्यो होला
तर यो अभिशप्त आँखाले संसारलाई रङ्गीन देखिरहन्छ
मेरो मनले देख्ने त प्रकाश मात्र हो
प्रकाश छ भने सेतो, छैन भने कालो ।
बाँकी सबै झुट, क्रूर भ्रम
रेटिना र दिमागले सँगै रचेका यातना ।
तिमी र मैले सँगै पिएका कफीको ताप त बाँकी छ
तर मनको रङ कहिल्यै मिलेन ।

