साहित्यपोस्ट डट कम

कविता : सेपियोफाइल

कविता : सेपियोफाइल

तिम्रो बाहिरी आवरणले मेरो आँखालाई मात्र तान्छ

मन तान्नलाई त हृदय चिरिनुपर्छ ।

बुद्धिको एक झिल्का मात्र मिले पनि

आँखाले निल्न नसकेका कुराहरू मेरो रगतमा घुल्छन्

घाउ बन्छन्, कहिल्यै निको हुँदैनन् ।

यो नक्कली र देखावटीको घाम चर्किएको संसारमा

यस्ता आत्मा विरलै भेटिन्छन्

मैले त आफैँलाई हराएको पनि धेरै वर्ष भइसक्यो

अरूले मलाई खोज्ने हिम्मत नै गरेनन्

गर्दैनन् पनि

सायद सधैँभरि नगरे पनि हुन्छ ।

पात, किरा, फट्याङ्ग्रा, खोलाको गीत, हिमालको मौनता

यी सबैमा म हराउन सक्छु, डुब्न सक्छु

एक्लै बसेर रेस्टुराँमा खान सक्छु

एक्लै सिनेमाघर पुगेर त्यहाँ हराउन सक्छु ।

तर तिम्रो आँखाको गहिराइमा

म हराउन सक्दिनँ डर लाग्छ ।

यदि दिमागको एउटा सानो कोठा पनि मिल्थ्यो भने

सायद तिम्रो मन पनि मेरो जस्तै कालो–सेतो मात्र हुन्थ्यो होला

तर यो अभिशप्त आँखाले संसारलाई रङ्गीन देखिरहन्छ

मेरो मनले देख्ने त प्रकाश मात्र हो

प्रकाश छ भने सेतो, छैन भने कालो ।

बाँकी सबै झुट, क्रूर भ्रम

रेटिना र दिमागले सँगै रचेका यातना ।

तिमी र मैले सँगै पिएका कफीको ताप त बाँकी छ

तर मनको रङ कहिल्यै मिलेन ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.