साथ कसलाई दिने ?
भोट कसलाई दिने ?
म सोच-विचारको यात्रामा हिँड्ने मान्छे
भिडको छाया पछ्याउने मन छैन।
तिम्रो सिद्धान्त के हो ?
तिम्रो सोच के हो ? भन मलाई ।
ट्रेन्डको पछि लाग्ने रहर छैन
किनकि ट्रेन्ड त अस्थायी हुन्छ
आउँछ, चम्किन्छ, अनि बिलाउँछ ।
भिड देखेकै हुँ
त्यहाँ फाइदा पनि हुन्छ
तर मन मान्दैन
भिडकै लहरमा बग्न ।
केही प्रश्न छन्
देशप्रति तिम्रो भावनाका ।
भोट दिनुअघि
म ती सबै प्रश्न लिएर आउँदैछु ।
नभन्नु मलाई पुरानाका गुनासा
न सुन्न चाहन्छु खाली आलोचना ।
सुन्न चाहन्छु
जिन्दगी र देश विकासप्रतिको तिम्रो दृष्टि
महिला, बालबालिका र वृद्धप्रतिको तिम्रो संवेदना
गरिब, अशक्त र बेरोजगारप्रतिको तिम्रो चिन्तन।
सुन्न चाहन्छु
युवा, उद्यम र व्यापारप्रतिको तिम्रो सक्रियता
राज्य, सिमाना, इतिहास
र भोलिको भविष्यप्रतिको तिम्रो सोच ।
यिनै हुन् मेरा प्रश्नहर।
अब हेरौँ
तिमीले भोट पाउने जवाफ दिन सक्छौ कि सक्दैनौ ?
किनकि म भिड पछाडि लाग्दिनँ
मेरो भोट झर्छ
तिम्रो जवाफको पछि।

