प्रकृतिको अनुपम उपहार
सरङ्कोटको डाँडाबाट
पारिपारि नियाल्दा
सरङ्कोटमा पुगेर
हरेक पल उभिँदा
बिहानले आफ्नै भाषा बोल्छ ।
प्रत्येक भोरको घामले
हिमालको निधारमा सिन्दूर लगाइदिन्छ
जहाँ अन्नपूर्ण छ
जहाँ माछापुच्छ्रे छ
जहाँ धौलागिरि पनि छ ।
हरेक दिनको
सिन्दूरे रेखा देखेको सरङ्कोटले
एक-एक गरेर मौन मुस्कान छोड्छ ।
तिनै हिमालमा देखिएका
सन्ध्याको सिन्दूरे रेखाले
हिउँमा देखिएका सिन्दूरे रेखा अनि तहहरूसँग
समय अड्कलेको हुन्छ ।
सरङ्कोटमा लाग्ने हावाले
देशको पुरानो कथा सुनाएर
आगन्तुकको कानमा भरिदिन्छ ।
सरङ्कोट सिरानीमा राखेर
पोखरा निदाइरहेको छ
रूपाताल र फेवातालले
सबैको अनुहार खिचेर राखेका छन् ।
उज्यालो ज्योति छर्ने
ती सेताम्मे हिमाल
जुन मेरो देशमा छन्
त्यहाँ उभिँदा मन हलुका हुन्छ
चिन्ता सबै कुहिरोजस्तै फाटिन्छ
मुहार खुसीको आभाले घामझैँ चम्कन्छ ।
हिमाल टाढा छन्
तर नजिकै भएको अनुभूति हुन्छ
जहाँ आफ्नै छातीभित्र
सरङ्कोटबाट सेतो शान्ति फैलिँदै गएको छ ।

