छन्द: शार्दूलविक्रीडित
सम्झन्छौँ इतिहासका कथन ती वेदान्तका धर्मका
पुर्खाले कसरी रचे भुवनमा सिद्धान्त सङ्घर्षका ।
आँखामा सब नाच्छ त्यो झलझली सम्झेर बालापन
हामीले सपना सजाउन सके फेरिन्छ यो जीवन ।
पार्टी छन् नि सयौँ–सयौँ तर यहाँ नेतृत्वमा दोष छ
जो सच्चा छ यहाँ युवा मुलुकमा छैनन् यही खोट छ ।
अर्कै बन्छ समाज यो विगतका चाला र माला सहे
ज्ञानी बन्छ युवा हिमालमुनिका संस्कार जारी रहे ।
पैसा मात्र हुँदैन हेर्न सबले सम्बन्ध हेर्ने गर
संस्कारी घरमा बसेर मनले वात्सल्य माया छर ।
जो जान्छ परदेशमा पर भयो बिर्सेर आमा–बुबा
माटो खन्न सके महत्त्व नदिँदा मान्छे भए खञ्चुवा ।
नेता हो सुन लौ युवा–गण सबै रोकेर राख्दा भलो
बन्दैनौँ परनिर्भरै श्रम गरे सम्झेर आफ्नै थलो ।
हाम्रो देश बनेर जान्छ सहजै नेतृत्व राम्रो भए
उल्टो काम हुँदैन गर्न कहिल्यै सरकार हाम्रो भए ।
छान्दै योग्य सबै सधैँ पद दिए गर्लान् सकेको जति
मान्छेको मन शुद्ध हुन्न यदि लौ बढ्दैन रे उन्नति ।
हाम्रो देश बनाउने सकल हौँ बन्दै गएमा गुणी
आशा जाग्छ मभित्र यो हरघडी सप्रेर जाला जुनी ।

