म भीडमा कहाँ एक्लो छु र !
टोटोवाला छन्, अटोवाला छन्
बस टर्मिनलअगाडि
व्यापारको सर्वाङ्ग खोलेर
“भैया खाना”
“भैया खाना”—को हुङ्कार छ वरिपरि ।
जिन्दगीमा कहिले पनि नमुस्कुराएका
हार्डवेयरका हार्ड व्यापारीहरू छन्
आफ्नो सामान जत्तिकै निर्जीव
सामग्री जत्तिकै निष्प्राण !
गएको रातको हाई–फाई ‘पत्नी–साटासाट’ पार्टीले पनि
जीवनमा एकरति जीवन झोस्न नसकेका
अनुहारविहीन अनुहारहरू छन्
म भीडमा कहाँ एक्लो छु र !
“नेपाल पानीट्याङ्की”
“नेपाल पानीट्याङ्की”
“ठाकुरगन्ज खोरीबारी”, “ठाकुरगन्ज खोरीबारी”
आत्माको पनि बोसो गलाएर गलाहरू
चिच्याइरहेछन् भोकको प्रिमियम भर्न ।
एउटा महाभारत नै छ यहाँ— हरपल कुरुक्षेत्र
सबै नदेखिएका हिरोहरू— इतिहास त धृतराष्ट्र न हो !
उनीहरूले आफैँलाई पनि देख्या छैनन्
सुम्सुम्याएका छैनन्, मुसारेका छैनन्
चिहाएका छैनन् आफूभित्र भी कोही छ भनेर ।
उनीहरू सोच्छन्— हामी अस्पृश्य हौँ
बाँच्नलाई गुट्खा खान्छन् कि गुट्खा खानलाई बाँच्छन् ?
सद्गुरुको इनर इन्जिनियरिङ र रामदेवको पवन–मुक्त आसन
आफूभित्र एउटा इनर छ भन्ने नै थाहा छैन
भुत्राको इन्जिनियरिङ !
उनीहरूको पवन उन्मुक्त छ— जहाँ आयो त्यहीँ
सृष्टिको त्यो आदिम नादमा एउटा सङ्गीत छ
कुनै मध्यमवर्गीय पवन–एटिकेट जान्दैनन् उनीहरू
‘फार्ट अफ लिभिङ’— यो भने सुण्या छैनन् उनीहरूले ।
यो अर्कै इन्डियाको कुरो हो— भारतभन्दा माथिको
“पानीट्याङ्की काँकरभिट्टा”–मा अल्झिएछ क्यारे
ब्ल्याक एन्ड ह्वाइट जीवन गोलाकार कुदेर
कति सजिलो जीवन, कति कहालीलाग्दो !
म भीडमा कहाँ एक्लो छु र !
त्यो ठूलो सपिङ मलको ठूलो बेसमेन्टमा
छालाका ठूला–ठूला दोकानहरू छन्
सबै डर्माटोलोजिस्ट— डाक्टर पनि बिरामी पनि !
किन्नेहरू र बेच्नेहरू— उक्लिन्छन्, ओर्लिन्छन्
उक्लिन्छन्, ओर्लिन्छन्— बेसमेन्ट छिर्ने एस्केलेटरमा ।
त्यो एस्केलेटर कति चिप्लो छ ! बीभत्स चिप्लो !
एक हुल, अनेक हुल पहाडी आइफोन सपनाहरू
चिप्लिरहन्छन् सधैँ त्यो बीभत्स एस्केलेटरमा
माथि–तल, तल–माथि— सपनाको एड्रेस खोज्दै ।
त्यो खाकी रङ्गको कानुन पनि चिप्लिरहन्छ एस्केलेटरमा
कहिले गोजीभरि “सुरक्षा” बोकेर, अनि कालो ब्रिफकेस ।
आहा, कति आनन्दको नरक— गुलियो इन्फर्नो !
कसले भन्यो नरकमा यातना हुन्छ ?
ती सबै बाहुनका दन्त्यकथाहरू हुन्
नरकमा त अहोरात्र पार्टी हुन्छ
शरीरको टप फ्लोरमा पार्टी गर्न
ग्राउन्ड फ्लोर भाडामा लगाइन्छ
सपनाको स्विमिङ्ग पूल छिर्न ।
यो साला सुनको भाउ पनि केसारो बढेको है ?
घर आउँछु— अन्तमा कुनै ठाउँलाई घर भन्नैपर्दो रहेछ
कहीँ न कहीँ त आउनैपर्दो रहेछ— रात त अँध्यारो हुन्छ मेरो पनि ।
कोनि किन आज फेरि निद्रा छैन घरभरि— तल खोज्न गएँ
नाइट–गार्डहरू सुतिरहेका छन् मस्त निद्रामा
मच्छरदानी टाँगिएको ओछ्यान छ, टेबल फ्यान छ
मेरो भागेको निद्रा यहाँ सरेछ कि !
‘भोकल फर लोकल’— दुई बोतल लोकलपछि
एउटा आम–आदमी निर्वाण पाएका छन् ।
उनीहरूको निद्राको गहनतामा एउटा दर्शन छ
यो एउटा क्रान्तिको शङ्खनाद हो
यी मेरो रोजेनक्रान्त्ज र गिल्डेन्स्टर्नहरू हुन्
बिमारु देशले दिएको बिमारु दिनलाई पचाएर
अच्छे दिनको आची पुछेर
प्रदूषणमुक्त, पवनमुक्त, उन्मुक्त, वाचा–मुक्त भएर
आउने फेरि अर्को अच्छे दिनलाई
सर्जिकल स्ट्राइक गर्ने सपना देख्दै होलान् ।
म टायरिसियस— म तमासे र तमासा
म चटके र चटक— म इन्फर्नोको इन्फर्नल नागरिक
मेरो मूल्यचाहिँ कति छ हँ तेरो बेसमेन्टको
बेसिक इन्स्टिङ्क्टमा ? अनि
त्यो एस्केलेटरमा चिप्लेटी खेल्नेहरू
भारतमै बस्छन् कि इन्डियामा ?

