लडाकु बन्न सिकाइयो, सत्कर्म गर्न सिकाइएन
अधिकार माग्न सिकाइयो, कर्तव्य गर्न सिकाइएन ।
सिङ्गापुरदेखि स्विजरल्यान्डसम्मका गफ छाँटेर
सपना अनेक देखाइयो, साकार पार्न सिकाइएन ।
घोकन्ते विद्या सिकाइयो, उद्यमी बन्न सिकाइएन
गफ चुट्न सिकाइयो, कर्मवीर हुन सिकाइएन ।
खेतबारी बाँझै छाडी ऋणको भारी बोकाएर
परदेश उड्न सिकाइयो, स्वदेशमा रम्न सिकाइएन ।
अरिङ्गाल बनी प्रश्न गर्नेमाथि जाइलाग्न सिकाइयो
जुका बनी सोझासाझाको रगत चुस्न सिकाइयो ।
बिपी र पुष्पलालले अँगालेका संस्कार त्यागेर
दलाल बनी राज्यको स्रोत–साधन लुट्न सिकाइयो ।
कर्मशील मौरीले जस्तै उत्पादन गर्न सिकाइएन
कर्मठ कमिलाले जस्तै सङ्गठन गर्न सिकाइएन ।
माक्स, लेनिन र माओका सिद्धान्त घोकाइयो
तर तोपचराले जस्तै निर्माण गर्न सिकाइएन ।

