साहित्यपोस्ट डट कम

कविता : सङ्घर्षको शिखर ‘छोटु’

कविता : सङ्घर्षको शिखर ‘छोटु’

वाणी नरोक नासिन्छु बोल्न द्यौ ओठ खोल्न द्यौ

नरोक गति रोकिन्छ चल्न द्यौ पद चाल्न द्यौ !!

सङ्कीर्णबाट विस्तीर्ण कौशिकी फैलिएसरि !

म फैलिन कहाँ सक्छु बाख्रा गोठ सफा गरी !!

शिक्षाको भोक मर्दैन चाहे गरीब होस् धनी !

मेरो बाटो म खन्दैछु खोज्दै सङ्कल्पको ध्वनि !

पराले घर दे मुक्ति गोठाले मित्र हो सुन !

भाडा माझ्छु लुगा धुन्छु पढ्ने बाटो खुलाउन !!

पोखरीको हिलो भित्र फुल्छन् कमलका दल !

त्यसै गरी म फुल्ने छु प्रतिज्ञा गर्छु अब्बल !!

ए आमा म हिँडे पढ्ने बाटो खोजेर फर्कुंला !

पढ्ने चाँजो मिलाएर फर्किएर म आउँला !!

ईच्छा शक्ति जहाँ हुन्छ मिल्छ विकल्पको पथ

ईच्छाबाटै त चल्ने हो सिङ्गो जीवनको रथ

अँध्यारोभित्र खोज्ने हो सुनौलो दिनको कथा !

उज्यालो भित्र पाइन्न मान्छेका मनका व्यथा !!

सोच्यो नोकर भै बस्छु तर बन्दिनँ नोकर !

साधना गर्छु वाणीको सिक्दै सादर अक्षर !!

पिएर आँसुका घुट्का पियो सङ्गीतको लय !

आँधी तुफानमा हाँस्दै फेर्यो जीवनको वय !!

कुत्ताको भागको रोटी जांघेभित्र लुकाउँदै !

मौका छोपेर खान्थ्यो ऊ डराई थर्थराउँदै !!

भोकमा रिसमा आँखा देखिन्न भन्दछन् सबै !

दूध चोरेर खाएको गर्वले भन्छ ऊ अझै !!

कस्तो सत्य बकेको हो चाहदैन लुकाउँन !

अर्थ अनर्थ जे हुन्छ खोज्दैन बन्न सज्जन !!

यही इमानले बाँच्यो नाच्यो आफ्नै इमानमा !

विश्वास कत्ति गर्दैन पाखण्डी अभिमानमा !!

सधैँ इमानले बाँच्यो दुःखमा आत्तिएन ऊ !

होचो बढ्यो भने मात्छ भन्दछन् मात्तिएन ऊ !!

सकार्यो छोटु रे नाम नमाने मनले पनि !

उज्यालो दिन कल्पेर बस्थ्यो औँला गनी गनी !!

हारलाई पछारेर जित्ने सन्जीव को प्रण !

हारमा जिन्दगी देख्ने धन्य सन्जीव चेतना !!

आफ्नै जीवन हो उर्जा छोटु पुस्तक लेखियो !

मित्र सन्जीवको सिङ्गो यात्रा जीवन देखियो !!

गरी सङ्घर्ष बाँच्नेहो सङ्घर्ष भित्र जीवन !

बिना सङ्घर्षले मान्छे सक्दै सक्दैन खारिन !!

रोज्यो सङ्घर्षको बाटो चुम्नका निम्ति टाकुरा !

चाल्यो दिमागको खेल पूर्वार्धतिर पाखुरा !!

तिम्रो सङ्कल्पका सामु झुक्यो हिमाल पग्लियो !

तिम्रो साहसका सामु फलामे बार हल्लियो !!

खुले जीवनका ढोका खुलेझै रविको छवि !

छोटुको लालिमा गान गाउँदै बस्छ यो कवि !!

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.