पहिलो सन्दर्भ: यात्रापछिको जिज्ञासा
हरेक पटकको अन्तरदेशीय यात्रापछि
‘ऊ’ र ‘ऊ’हरू पहिलेभन्दा नजिक हुन्छन्
समय मिलाउँछन्
गाई–गोठको कुरा गर्छन्
खेत, खलियानको स्मरण गर्छन्
आपसमा नियात्राका शब्द-चित्र पोख्छन्
नभएको ‘एजेन्डा’लाई तानतुन पार्दै
आ–आफ्नो बौद्धिकताको परिचय दिन्छन्
अर्थात्, वार्तालाई लम्ब्याउँछन् ।
अलिखित ‘दर्शन’को घण्टौँसम्म विवेचना गर्दै
सेलफोनको स्क्रिनमा टल्कँदै गरेको
रिसिभरको सङ्केत-चिन्ह थिच्नुअगाडि
अक्सर प्रश्न गर्छन्
मुलुक कस्तो छ ?
फेरियो कि उस्तै छ ?
दोस्रो सन्दर्भ: नफेरिएकाहरू
वर्षौँपछि मुलुक पुगेर आएको मुग्लानिया भन्छ
फरक के छ र खै !
सूर्योदयअगाडि सुरु हुने लिप-पोतको बिहान उस्तै छ
मधुरो प्रकाशमा सकी-नसकी आफ्नै अस्तित्व खोज्ने
साँझको दियो उस्तै छ
शङ्ख त सधैँ बज्दैन
बजिरहने मन्दिरको घण्ट उस्तै छ
कात्तिक–मङ्सिरमा झुल्ने धानका बालाहरू उस्तै छन्
बालीमा लाग्ने ‘गन्हाउने कालोपोके’ उस्तै छ ।
फेरिनुपर्नेहरू आज पनि फेरिएका छैनन्
म उस्तै छु
मेरा बाबा-आमा उस्तै हुनुहुन्छ ।
तेस्रो सन्दर्भ: फेरिएकाहरू
‘मुलुक फेरिएको छ कि छैन’ भन्ने बहस चल्दै गर्दा
मुग्लानिया आफ्नो डायरीमा लेख्छ
विमानस्थलको आगमन–कक्ष,
गाउँको बाटो र बिजुलीको प्रवाह फेरिएको छ ।
सञ्जालमा केन्द्रित पछिल्लो पुस्ताको हुर्काइसँगै
घरका रङ-रोगन, उचाइ र बान्की फेरिएका छन् ।
भजन–कीर्तनमा आमाहरू
स्कुल–अड्डामा छोरीहरू
घाटमा दिदी-बहिनीहरू
सबै–सबैले
सामाजिक विज्ञानका खुड्किलाहरू पढाउँदै गर्दा
‘समाज’ रूपी विद्यालयका शिक्षकहरू फेरिएका छन् ।
दोरम्बा, हापुरे, भदौ–२३ दुखेकै छ
दुखेको स्वाङ्ग गर्नेहरू फेरिएका छन् ।
कहिले उक्लँदै, कहिले ओर्लँदै गरेको मुलुकमा
प्रहरी–पत्रकार बन्ने अभ्यासमा
पत्रकार–प्रहरी बन्ने जमर्कोमा
फेरिनुपर्ने त फेरिए नै
नफेरिनुपर्नेहरू पनि फेरिएका छन् ।

