खै खै मास्टर–हेडमास्टरहरू ! सम्मान खै मान खै ?
माला स्वागतको कहाँ छ गतिलो ? सम्मानमा ध्यान खै ?
जिल्लाको अहिले म सांसद बडो, मै हूँ यहाँ को छ र ?
पहिलेको म विशिष्ट हूँ नि उच्च पदमा, पुगेर फर्केँ घर ।
खा खा जागिर खा उता सदनमा, मै हुन्छु सम्मान दे
आए आँगनमा सुस्वागत गरेस्, सम्मानमा ध्यान दे ।
के को मास्टर हो पढाउनु कहाँ ? सम्मान दे जोडले
मैलाई बौलाहा बनाउँछ बुझ्यौ, सम्मानको होडले ।
छैनन् काम भने यदि अफिसमा, माला लिई आउनू
आएको पल गेटबाहिर कतै, प्रसन्न भै धाउनू ।
खाने जागिर हो र हाजिर न हो, सम्मानले टिक्दछौ ?
ए ए मास्टर हो ! सिकाउन उठौँ, संसारले सिक्दछौ ।
ताराले नभमा, भूगर्भ भवमा, आगो सलामी दिए
मानौँ मान दिए समान नलिए, बौलाउने को थिए ?
इच्छाले अपमान गर्न नहुने, शिक्षा नसिक्ने किन ?
सारा फूल चुँडी नमार सपना, सम्मानमा दिनदिन ।
ए मास्टर हो ! पुगेन अहिले, सम्मानको गौरव
ए सांसद हो ! रहेन अहिले, विश्वासको वैभव ।
छोडी स्वार्थ अनेक कर्मपथमा, लम्केर आऊ वर
जोडी अर्थ–अनर्थ व्यर्थ नहुँदै, सम्हाल आफ्नो घर ।

