एक दिन
सँगै बग्न नसकेर मैले
नदीसँगको प्रेमिल यात्रा टुङ्ग्याएँ
र चुपचाप
उजाड बगरको ढुङ्गाझैँ
किनारामा आफूलाई थन्काएँ ।
निःशब्द नदी भने
आघातका नीला डामहरू बोकेर
एक्लै बगिरह्यो
सायद उसलाई
समुद्रसम्म पुग्नुको बाध्यता थियो ।
स्मृतिका अक्षरहरू
समयको ‘डस्टर’ले पनि
मेट्न नसक्दा रहेछन्
न त छोप्न सके
थकित अनुहारका यी धर्साहरूले ।
वर्षौँपछि आज पनि
सम्झनाको सुनसान पगडण्डीमा
उसको नाम
कोइलीको उदास भाकासँगै
साँझभरि गुञ्जिरहन्छ ।
र यो बेला म
मृत प्रेमको खरानी बोकेर
आफ्नै असक्षमताको चिहानछेउ
मौन शोक मनाइरहेछु ।

