साहित्यपोस्ट डट कम

कविता : सम्झनाको सुनसान पगडण्डीमा

कविता : सम्झनाको सुनसान पगडण्डीमा

एक दिन

सँगै बग्न नसकेर मैले

नदीसँगको प्रेमिल यात्रा टुङ्ग्याएँ

र चुपचाप

उजाड बगरको ढुङ्गाझैँ

किनारामा आफूलाई थन्काएँ ।

निःशब्द नदी भने

आघातका नीला डामहरू बोकेर

एक्लै बगिरह्यो

सायद उसलाई

समुद्रसम्म पुग्नुको बाध्यता थियो ।

स्मृतिका अक्षरहरू

समयको ‘डस्टर’ले पनि

मेट्न नसक्दा रहेछन्

न त छोप्न सके

थकित अनुहारका यी धर्साहरूले ।

वर्षौँपछि आज पनि

सम्झनाको सुनसान पगडण्डीमा

उसको नाम

कोइलीको उदास भाकासँगै

साँझभरि गुञ्जिरहन्छ ।

र यो बेला म

मृत प्रेमको खरानी बोकेर

आफ्नै असक्षमताको चिहानछेउ

मौन शोक मनाइरहेछु ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.