साहित्यपोस्ट डट कम

कविता : सम्झनाको बगैँचामा

कविता : सम्झनाको बगैँचामा

सम्झनाको बगैँचामा

आँखाको क्षेत्रफलभन्दा

पर परसम्म फैलिएको

पीडाको विस्तीर्ण मरुभूमि छ।

केही काल यता मरुभूमिमा

म एक्लै छाडिएको छु ।

सुदूर क्षितिजबाट सर्दै सर्दै

जब घामले आत्महत्या गर्छ

घाम सँगै मेरो दृष्टि ओइलाएर झर्छ ।

रातको शून्य प्रहरमा जब म

चुपचाप विचरण गर्छु

आफ्नै अतीतका गल्छेडाहरूमा

कुनै प्रवाह नराखी अन्धाधुन्ध

हृदयको तीरले झटारो हान्छु।

बयरका दानाहरू जस्तै तिम्रा

मांसल यादहरू झर्छन् ।

सम्झनाको बगैँचामा भुइँभरि

असरल्ल पोखिएका तिम्रा बेमौसमी यादहरू

बटुलेर आफ्नै मनको बोरोभित्र हाल्छु ।

अचेल हरेक साँझ तिमी

मेरो स्मृतिमा ब्युँझिन्छ्यौ

खोलाको एकधारे

सङ्गीत हौ मनभरि गुन्जिन्छौ !

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.