सम्झनाको बगैँचामा
आँखाको क्षेत्रफलभन्दा
पर परसम्म फैलिएको
पीडाको विस्तीर्ण मरुभूमि छ।
केही काल यता मरुभूमिमा
म एक्लै छाडिएको छु ।
सुदूर क्षितिजबाट सर्दै सर्दै
जब घामले आत्महत्या गर्छ
घाम सँगै मेरो दृष्टि ओइलाएर झर्छ ।
रातको शून्य प्रहरमा जब म
चुपचाप विचरण गर्छु
आफ्नै अतीतका गल्छेडाहरूमा
कुनै प्रवाह नराखी अन्धाधुन्ध
हृदयको तीरले झटारो हान्छु।
बयरका दानाहरू जस्तै तिम्रा
मांसल यादहरू झर्छन् ।
सम्झनाको बगैँचामा भुइँभरि
असरल्ल पोखिएका तिम्रा बेमौसमी यादहरू
बटुलेर आफ्नै मनको बोरोभित्र हाल्छु ।
अचेल हरेक साँझ तिमी
मेरो स्मृतिमा ब्युँझिन्छ्यौ
खोलाको एकधारे
सङ्गीत हौ मनभरि गुन्जिन्छौ !

