सिंहासनको वरिपरि
भन्किरहेछन् सम्भ्रान्त झिँगा
सुगन्ध होइन
सत्ताको रस चुस्न
फूलझैँ मुख लगाउनेहरू ।
हिजो सडकमा कराउँथे
“पुराना सब सडे !”
आज कुर्सीमा टाँसिएपछि
आफ्नै पखेटा सुनौलो देख्छन् ।
घण्टी बज्थ्यो
जनताको आशामा
तर दरबारभित्र पस्नेबित्तिकै
त्यही घण्टी
चाकडीको तालमा बज्न थाल्यो ।
क्रान्तिका शब्दहरू
एसी कोठामा पस्दै गर्दा
नरम भए
र सिद्धान्तका नङ्ग्रा
मखमली डसनाभित्र हराए ।
सम्भ्रान्त झिँगाहरू
अब फोहोरमा बस्दैनन्
सुगन्धित भाषणमा बस्छन्
जहाँ भ्रष्टाचारलाई
“व्यवस्था” भनिन्छ
र अवसरवादलाई
“परिपक्व राजनीति” ।
जनता भने
झ्यालबाहिरको अँध्यारोमा
अझै पर्खिरहेछन्
घण्टी फेरि
जनताको लागि बज्ला भनेर ।
तर सत्ता
जब चिनीको डल्लो बन्छ
त्यहाँ झिँगाहरू
वर्गसङ्घर्ष होइन
मिठासको पक्षमा उभिन्छन् ।

