साहित्यपोस्ट डट कम

कविता : सम्बन्ध

कविता : सम्बन्ध

सम्बन्धहरू

चाहँदैमा बन्दैनन्

समयले बुनिरहेको हुन्छ ।

कयौँ सम्बन्धहरू हामीले रोजेका पनि हुँदैनौँ

समयसँगै आफैँ जोडिरहेका हुन्छन् ।

केही सम्बन्धहरू प्रारब्ध बनेर आएका हुन्छन्

केही पाठ बनेर सिकिन्छन्

केही त मौनतामै बसेर तड्पिन्छन्

र थाहा नपाई दुई आत्मा हल्लाइदिन्छन् ।

हामी भेटलाई संयोग भन्छौँ

विछोडलाई दुर्भाग्य

तर आत्मा जानकार हुन सक्छ

यी सबै जीवन यात्राका मोडहरू हुन् ।

कुनै सम्बन्धले प्रेम सिकाउँछ

कुनैले धैर्य, कुनैले क्षमा

तर सबै सम्बन्धहरूले हाम्रो चेतनामा

कहिल्यै नबुझिने उज्यालो छोडिरहेका हुन्छन् ।

सम्बन्धका डोरीहरू कहिलेकाहीँ

नजिक भएर पनि टाढा हुनुपर्छ

कहिलेकाहीँ

टाढा भएर पनि आत्मासँगै जोडिनुपर्छ ।

माया अधिकार होइन, प्रेमात्माको सेवा हो

सम्बन्ध कब्जा होइन, प्रेमीप्रतिको समर्पण हो ।

प्रेमको प्रेमालय

टाढा रहन र महसुस गर्न सक्नु हो ।

मौन स्वीकार बेजोड शक्ति हो

त्यही दिन प्रेमिल आत्मा हलुका हुन्छ ।

अन्तत थाहा हुन्छ

हामी सबै समयका यात्रु हौँ

तोकिएका क्षणहरूका सहयात्री ।

र जीवन डोर्‍याउने

त्यही अदृश्य प्रेमको धागोले हो

जुन प्रेम, करुणा र चेतनाले बुनेको छ

नदेखिए पनि महसुस हुने

नबोले पनि अन्तरात्मासम्म सुनिने ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.