साहित्यपोस्ट डट कम

कविता : समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन

कविता : समयले धेरै कुरा सिकायो तर समयमै सिकाएन

समय गुरु बनेर आयो
हातमा चक थिएन
अनुहारमा करुणा थिएन
पाठहरू अप्ठ्यारा थिए
ढिलो बुझिने
ढिलो बोल्ने
ढिलो नै आत्मसात् हुने ।

उसले मलाई धैर्य सिकायो
जब सहनै नसक्ने पीडा थुप्रिए
उसले मौन सिकायो
जब बोल्नुपर्ने बेला
आवाज हराइसकेको थियो ।

समयले मित्र चिनायो
तर विश्वास भत्किएपछि
आफन्तको मूल्य बुझायो
तर सम्बन्धहरू चिसिएपछि ।

उसले प्रेमको अर्थ सिकायो
तर प्रेम गुमेपछि
आत्मसम्मान सिकायो
तर अपमानको हद नाघेपछि ।

समयले भन्यो
“सबै कुराको उत्तर भित्रै हुन्छ,”
भित्र खोज्न थालेँ
त्यतिबेला जब
बाहिरका सबै ढोका बन्द भइसकेका थिए ।

सही र गलत छुट्याउन सिकायो
तर गल्तीहरू जीवनको कापीमा
मसी सुकिसकेपछि ।


समयले जीवन के हो बुझायो
तर जवानी थाकिसकेपछि
समयले सपना कति मूल्यवान् छन् सिकायो
तर सपना बेचेर
जिम्मेवारी किनेपछि ।

समय निर्दयी थिएन
ऊ त केवल निष्पक्ष थियो
उसले कहिल्यै रोकेन
न त फर्केर आयो ।

आज बुझ्छु
समयले धोका दिएको होइन
हामी नै ढिला सिक्ने विद्यार्थी थियौँ ।

तर पनि
यति धैरे सिकेर पनि
मनमा एउटा प्रश्न बाँकी छ
यदि समयमै सिकाएको भए
के जीवन यति अप्ठ्यारो हुन्थ्यो ?

सायद हुन्थेन ।
किनकि
ढिलो सिकिएका पाठहरू
आत्मामा लेखिन्छन्
मेटिँदैनन्
जीवनभर पढिरहन्छौँ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.