आजसम्मकै सबैभन्दा विद्वान्
जानेबुझेका र सबैभन्दा सम्पन्न
छोराबुहारीहरू वृद्धाश्रमको फन्को मार्छन्
भित्रको हालखबर बुझ्छन्
समाचार बनिहाल्यो भने अविलम्ब
खबर गर्न फोन नम्बर टिपाउँछन्
इमेल आइडी लेखाउँछन्
र, बाहिरबाहिरै फर्कन्छन् ।
भित्रबाट झ्यालका ससाना आँखीहरू हुँदै
मुस्किलले बाटोसम्म पुग्ने धमिला दृष्टिहरूले
चालडालको त्यान्द्रो सुम्सुम्याउँदै
छोराबुहारीको पहिचान गर्छन् ।
मनमा जमेका दुःखका रारा, फेवाबाट बगेका
रोसी र कोसीलाई गालाका खोल्साखोल्सीहरूमा बगाउँछन्
र, पछिसम्म रसाइरहने भावनाका ढिक्काहरू
केहीलाई आँखाका डिलबाटै लगलग हल्लिने
हातले टिप्छन्, केहीलाई
नाकका टुप्पाबाट थाङ्नामा थन्क्याउँछन् ।
छातीभित्र दन्किने पीडाको भतभती पोल्ने
ज्वालोलाई माघेठन्डीले गुँड लगाएका
ओछ्यान तताउने काममा लगाउन पल्टयाङपुल्टुङ गरिरहन्छन् ।
निद्रा र शान्तिका लागि प्रवेश निषेधको
अदृश्य बोर्ड राखिएको त्यो आश्रमभित्र
पराई–माया पान गरेर बस्न विवश निन्याउरा मन
र धमिला दृष्टिहरूमा प्रवेश गर्न न शान्तिले कम्मर कस्छ
न त निद्रा नै बास बस्न आइपुग्छ ।
लाग्छ, समयले भोलिका झन्
धेरै विद्वान् र झन् धेरै सम्पन्न छोराबुहारीहरूलाई त
समाचार बनिहाल्यो भने भस्मेश्वरको काम पनि सम्पन्न गरेर
अविलम्ब खबर गर्न सम्पर्क सूत्र टिपाएर फर्कन सिकाउँदै छ !
र, त्योभन्दा पछिका अझ बढी विद्वान्
र अझ बढी सम्पन्न छोराबुहारीहरूलाई त
तेह्रदिने कर्म पनि सम्पन्न गरेर
खाता नम्बर र बिल पठाउन फोनबाटै आग्रह गर्न सिकाइरहेछ !
कस्तो बाध्यताले हो कुन्नी
समय आफैँ जिल्ल पर्दै अनौठो बाटोहुँदै
टिकटिक गर्दै यस्तो कान्तिहीन शिक्षा दिइरहेछ ।

