साहित्यपोस्ट डट कम

कविता : समयको कान्तिहीन शिक्षा

कविता : समयको कान्तिहीन शिक्षा

आजसम्मकै सबैभन्दा विद्वान्

जानेबुझेका र सबैभन्दा सम्पन्न

छोराबुहारीहरू वृद्धाश्रमको फन्को मार्छन्

भित्रको हालखबर बुझ्छन्

समाचार बनिहाल्यो भने अविलम्ब

खबर गर्न फोन नम्बर टिपाउँछन्

इमेल आइडी लेखाउँछन्

र, बाहिरबाहिरै फर्कन्छन् ।

भित्रबाट झ्यालका ससाना आँखीहरू हुँदै

मुस्किलले बाटोसम्म पुग्ने धमिला दृष्टिहरूले

चालडालको त्यान्द्रो सुम्सुम्याउँदै

छोराबुहारीको पहिचान गर्छन् ।

मनमा जमेका दुःखका रारा, फेवाबाट बगेका

रोसी र कोसीलाई गालाका खोल्साखोल्सीहरूमा बगाउँछन्

र, पछिसम्म रसाइरहने भावनाका ढिक्काहरू

केहीलाई आँखाका डिलबाटै लगलग हल्लिने

हातले टिप्छन्, केहीलाई

नाकका टुप्पाबाट थाङ्नामा थन्क्याउँछन् ।

छातीभित्र दन्किने पीडाको भतभती पोल्ने

ज्वालोलाई माघेठन्डीले गुँड लगाएका

ओछ्यान तताउने काममा लगाउन पल्टयाङपुल्टुङ गरिरहन्छन् ।

निद्रा र शान्तिका लागि प्रवेश निषेधको

अदृश्य बोर्ड राखिएको त्यो आश्रमभित्र

पराई–माया पान गरेर बस्न विवश निन्याउरा मन

र धमिला दृष्टिहरूमा प्रवेश गर्न न शान्तिले कम्मर कस्छ

न त निद्रा नै बास बस्न आइपुग्छ ।

लाग्छ, समयले भोलिका झन्

धेरै विद्वान् र झन् धेरै सम्पन्न छोराबुहारीहरूलाई त

समाचार बनिहाल्यो भने भस्मेश्वरको काम पनि सम्पन्न गरेर

अविलम्ब खबर गर्न सम्पर्क सूत्र टिपाएर फर्कन सिकाउँदै छ !

र, त्योभन्दा पछिका अझ बढी विद्वान्

र अझ बढी सम्पन्न छोराबुहारीहरूलाई त

तेह्रदिने कर्म पनि सम्पन्न गरेर

खाता नम्बर र बिल पठाउन फोनबाटै आग्रह गर्न सिकाइरहेछ !

कस्तो बाध्यताले हो कुन्नी

समय आफैँ जिल्ल पर्दै अनौठो बाटोहुँदै

टिकटिक गर्दै यस्तो कान्तिहीन शिक्षा दिइरहेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.