साहित्यपोस्ट डट कम

कविता : समय एक कालजयी गति

कविता : समय एक कालजयी गति

समय रफ्तार लिन्छ

र लिइरहन्छ ।

समय

न भूत, न भविष्य

उसँग साथ छ त वर्तमान ।

समय

अभेद्य छ, अविराम छ

अजेय छ, अनश्वर छ ।

समय शाश्वत छ,

समय अनन्त गतिमा छ

किनकि

समय कालजयी छ

समय निरन्तर चलिरहन्छ ।

सूर्यका वायुपङ्खी रथसँगै

अविराम, अविश्राम ।

समय, सबैको साझा

समय सबैसँग समान छ

वर्गीकृत हुँदैन समय

आफ्नै प्रवृत्तिले बन्दछ

राम्रो, नराम्रो समय ।

तर समय

भोलिको किरणको लालिमासँगै

कसैको भाग्य कोर्ने रेखा बन्न सक्छ ।

हिजो समय बलवान् बनेर

कसैको निधार चम्काएको थियो

आज त्यो उज्यालो

अरू कसैको आँगनमा

उज्यालो बनेर परेको छ ।

हिजो समय चलायमान पार्ने

नीति, नियम र निर्णय

आज

अरू कसैले पाखुरी बजार्दैछ

समयको गतिसँगै ।

समय स्वभावले गतिमान छ

समयको चक्रीय गति

कसैले बुझे, कसैले बुझेनन् ।

समयको गतिसँगै हिँड्न सिक

तर ईर्ष्यामा जल्न होइन ।

जब समयले संस्कार सिकायो

परिवर्तनको शङ्खनाद गुञ्जियो

तिमीभित्रको चक्षु खुलेन ?

कसैको पेवा बनेन समय

यो त साझा सम्पत्ति हो

सबैका लागि समान ।

जगतद्रष्टाले

जन्मअघि नै बाँडिसकेको

अवण्डा

सबैको

जन्मजात अधिकार ।

यो प्राकृतिक हो, स्व–उत्पादन हो

स्वतःस्फूर्त, अनवरत प्रवाहित ।

परा–प्रकृति, सारा ब्रह्माण्ड

समयमै आश्रित

समयद्वारा नियन्त्रित ।

तर तिमीले समय बुझेनौ

बुझ्ने प्रयास पनि गरेनौ

दोष त्यहीँ जन्मियो ।

जसले समय बुझ्यो

उसले उपयोग गर्‍यो ।

जसले समय गुमायो

उही अनुपयोगीको भार बोकेर

तल झर्‍यो

समय अझै बगिरहेछ…

सायद

तिमीलाई फेरि एकपटक

आफैँलाई चिन्ने अवसर दिँदै ।

समय

प्रतीक्षा गर्दैन

तर चेतनाको

सधैँ ढोका खुला राखिरहन्छ ।

समयसँग

जसले चाल मिलाउँछ

उही जीवनको यात्रामा

पतनभित्र पनि सम्भावनाको बीउ भेट्टाउँछ ।

किनकि समय

परिवर्तन मात्र पनि होइन

यो त

मानिसलाई मानिस बनाउने

अदृश्य गुरु पनि हो ।

र अन्तत

समयको विशालतामा

अहंकारका ढुङ्गाहरू टिक्दैनन्

टिकिरहन्छ त केवल

सत्कर्मका उज्याला छापहरू ।

किनकि समय स्वयं

कालको प्रवाह हो

कालजयी

अनन्त, अविश्राम र अजेय ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.