भाग ४
“तपाईँ मेरो कुरा पत्याउनुहुन्न भने नेपाल प्रज्ञा–प्रतिष्ठानलाई
र नेपाली कविताको कुनै इतिहासकारलाई सोध्नुहोस्—
आधुनिक नेपाली कविताहरू लेखिन थालेपछि मात्र
नेपालमा सङ्गठित रूपमा भ्रष्टाचार सुरु भएको हो कि होइन ?
तपाईँ कुनै अर्थशास्त्रीलाई सोध्नुहोस्
उसले पनि यही भन्छ कि
२०६२ सालपछि कविताहरूको बाढी आएपछि नै
प्रत्येक नेपालीको थाप्लोको ऋण बढेको हो ।
तपाईँहरू नयाँ जोस लिएर आउनुभएको छ
हौसिएर धेरै कविताहरू छाप्नुहोला
तर ख्याल गर्नुहोला
साझाले छाप्ने कविताहरूले अर्को साल
देशमा धेरै अनिष्ट ल्याउन लागेका छन् ।
मैले बिनाप्रमाण बोलेकै छैन
म तथ्याङ्कभन्दा बाहिर गएकै छैन ।
ल
तपाईँ आफैँ यी तथ्याङ्कहरू हेर्नुहोस् ।
नेपालको इतिहासमा सबैभन्दा बढी कविहरू
कविताहरू, प्रकाशकहरू, समालोचकहरू
समीक्षकहरू, पत्रिकाहरू, साहित्यिक संस्थाहरू
पाठकहरू र पुरस्कारहरू अहिले नै छन् ।
र
अहिले नै नेपालको इतिहासमा
सबै सरकारी नियुक्तिहरू बिक्रीमा छन् ।
देख्नुभयो त
आधुनिक नेपाली कवि र कविताहरूले
देशलाई कति रसातलमा पुर्याएका छन् !
यो खतरनाक स्थिति सत्ता हातमा नलिइकनै
‘कविता लेखेर समाजलाई बदल्छु’
भन्ने कविहरू बढिरहेको बेलामा भएको छ।
अब त विश्वास भयो होला नि
ती सरदार बुढाले कति योजनाबद्ध तरिकाले
आफ्नो गिरोह चलाइरहेका छन् ।
तपाईँले मैले प्रस्तुत गरेका तथ्याङ्कहरूलाई पत्याउनुभएन रे !
त्यसो भए संयुक्त राष्ट्रसङ्घकै तथ्याङ्क हेरौँ न त !
सत्ता हातमा लिन्नँ भनेर भागेकाहरूलाई
महाकवि, राष्ट्रकवि र युगकवि घोषणा गरेपछि
नेपाल संसारको सबैभन्दा गरिब देशमा दरिएको छ ।
२०४६ सालपछि ‘जनतासित जोडिने र जनतालाई सचेत पार्ने’
कविताहरू लेखिन थालेपछि नागरिकहरूले धेरै झूट बोल्न थालेका छन् ।
जनताले यी कविताहरू पढेपछि देशमा अब सज्जन भेटिनै छाडेको छ ।
हेर्नुहोस् त
ती सरदार बुढाले कति सङ्गठित तरिकाले गिरोह चलाइरहेका छन् !
के रे ?
तपाईँलाई विदेशीकै तथ्याङ्कमा विश्वास लाग्ने रहेछ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको तथ्याङ्क पढ्नुहोस् त्यसो भए ।
राजनीति गर्दिनँ, चुनाव लड्दिनँ, प्रधानमन्त्री बन्दिनँ
सत्ता आफ्नो हातमा लिन्नँ, बरु भागेर भए पनि कविता लेखेरै
जनतालाई सचेत पार्छु, गरिबी, असमानता र अन्याय हटाउँछु
भनेर २०४६ सालपछि जजसले कविताहरू लेखे
तिनकै कविताहरू पढेर
देश सबैभन्दा भ्रष्ट र कुशासित मुलुक बनेको छ ।
देशमा गरिबी, असमानता र अन्याय बढेको बढ्यै छ ।
तपाईँलाई यो परिघटना रहस्यमय लाग्दैन ?
हे भगवान् !
नेपाली कविहरूले नागरिकहरूलाई
यस्तो के सिकाएका हुन् !
यो छर्लङ्ग छैन र
सरदार बुढाको गुरुयोजनाअनुसार नै सबैथोक भइरहेको छ !
तर विडम्बना हेर्नुहोस्
सत्ता हातमा लिन अस्वीकार गर्ने कविहरूका कविताले गर्दा
देश सबैभन्दा भ्रष्ट र कुशासित मुलुक बनेको सम्बन्धलाई
समालोचकहरू जोड्न मान्दैनन् ।
समालोचकहरू त २०४६ सालपछिका कविताहरू
जनतासित जोडिनुलाई नेपाली कविताको अभूतपूर्व प्राप्ति मान्छन् ।
ती समालोचक यी कविताले देशलाई पतनको बाटोमा लगेको भन्दै भन्दैनन् ।
हे भगवान् !
कविताहरूले देशलाई संसारको सबैभन्दा
भ्रष्ट र कुशासित मुलुक बनाइदिनु नै अब नेपाली कविताको
सबैभन्दा ठूलो उपलब्धि भएको छ !”

