साहित्यपोस्ट डट कम

कविता : समाज भूपीको नोकर हो र ?

कविता : समाज भूपीको नोकर हो र ?

(भाग–३)

मैले हिजो मात्र साझाको नयाँ व्यवस्थापनलाई भेटेर भनेँ कि

लेखनाथ बुढाको कविता प्रकाशन गर्न बन्द गर्नुहोस् ।

ती बुढा कवि हुन् कि कुनै माफियाका सरदार ?

साझाले तिनका कविता प्रकाशित गरेदेखि देशमा

अपराध, भ्रष्टाचार, अन्याय, अत्याचार, असमानता

गरिबी र कुशासन बढेको बढ्यै छ ।

नपत्याए साझाले तिनका कविता प्रकाशित

गरेपछिका देशका तथ्याङ्कहरू हेर्नुहोस् ।

मैले उहाँहरूलाई भनेँ कि

“बुढाले कविता लेखेर देशलाई

आफ्नो कब्जामा लिएका छन् ।

नेपाली कविहरूलाई तिनले किनेका छन् ।

देशलाई आफ्नो कब्जामा लिने अभूतपूर्व गोप्य षडयन्त्रकारी

योजनाअनुसार तिनले कविता लेखेका हुन् ।

राजनीति नगर्नु, चुनाव नलड्नु, सत्ता आफ्नो हातमा नलिनु,

बरु कवि बनेर समाजलाई बदल्न प्रतिबद्ध रहनु भनेर

तिनै सरदार बुढाले नेपाली कविहरूलाई सिकाएका हुन् ।

तिनकै योजनाअनुसार अहिले सबथोक भइरहेको छ ।

जुम्लादेखि जापानसम्म तिनले आफ्नो सञ्जाल फैलाएका छन् ।

मल्ल र सङ्ग्रौला यही गिरोहका सल्लाहकारहरू हुन् ।

देवकोटा यही गिरोहका रणनीतिकार हुन्,

भूपी यसकै प्रवक्ता हुन् ।

ती बुढाले मलाई त्यतिबेलै भनेका थिए—

‘तपाईँ हेर्दै जानुहोस्, कविता लेखेर

म तपाईँको देशलाई कसरी आफ्नो कब्जामा लिन्छु।’

त्यही योजनाअनुसार ऋषिदेखि बुढाले

गान्धीजस्तो चश्मा लगाएका हुन् ।

चुनाव लड्दिनँ, सत्ता आफ्नो हातमा लिन्नँ

भन्ने कविहरू सबै तिनका लडाकुहरू हुन् ।

इन्टरपोलले नसमातोस् भनेर सरदार अहिले भूमिगत भएका हुन् ।

नपत्याए देशका यी भयावह तथ्याङ्कहरू हेर्नुहोस् ।

बुढा भूमिगत भएदेखि नै देशमा अपराध, भ्रष्टाचार

र कुशासन बढेको बढ्यै छ ।

कविहरूले प्रतिबद्ध भएर देश र समाज बदल्ने कविताहरू

लेखेका लेखेकै छन् र त्यही अनुपातमा

देशमा गरिबहरू बढेका बढ्यै छन् ।

देशप्रेमले ओतप्रोत कविताहरू छापिएका छपिएकै छन्

र महिला हिंसाका घटनाहरू पनि त्यसै गरी बढेका बढ्यै छन् ।

नपत्याए यी तथ्याङ्कहरू हेर्नुहोस्

जुन वर्ष धेरै साहित्यिक कार्यक्रमहरू र गोष्ठीहरू भएका छन्,

त्यही वर्ष धेरै महिलाहरू विदेशमा बेचिएका छन् ।

जुन वर्ष प्रकाशकहरूले धेरै काव्य–सङ्ग्रहहरू छापेका छन्,

त्यही वर्ष धेरै बच्चाहरू माग्नलाई सडकमा आएका छन् ।

यो पनि पढ्नुहोस्— पत्रपत्रिकाहरूमा कविताहरू धेरै छापिन थालेदेखि नै

विमानस्थलमा देश छोड्नेहरूको भिड पनि बढ्न थालेको छ ।

अनलाइन पत्रिकाहरूले जहिलेदेखि कविता प्रकाशित गर्न थालेका छन्,

त्यसै बेलादेखि अदालतमा ठगी मुद्दाहरू बढ्न थालेका छन् ।

कविताहरूका समीक्षाहरू धेरै हुन थालेपछि

सबै गाउँपालिकाहरूमा बेरुजु बढेको छ ।

सरदार बुढाको दिमाग हेर्नुहोस् !

बुढा कति योजनाबद्ध तरिकाले काम गर्छन् भने

सहरमा एकातिर कविता सङ्ग्रहको विमोचन गराउँछन्

अर्कोतिर त्यसै बेला मन्त्रीहरूलाई घुसको मोलमोलाइ गर्न लगाउँछन्।

कतै कविता वाचन कार्यक्रम हुँदै छ भने

बुझ्नुहोस् कि देशमा कसैको हत्या हुन गइरहेको छ

नपत्याए त्यो दिनको प्रहरी कार्यालयको विज्ञप्ति हेर्नुहोस् ।

कविहरू जब पदयात्रातिर जान्छन्

तस्कर त्यही साइतमा सुन लिएर सुटुक्क देशभित्र पस्छ ।

कविले जुन दिन फेसबुकमा कविता पोस्ट गर्छ

नमर्नुपर्ने बिरामी पनि त्यही दिन मर्छ ।

नपत्याए त्यो बिरामीका आफन्तलाई सोध्नुहोस् ।

तपाईँले सरकारले प्रकाशित गरेको तथ्याङ्कहरू हेर्नुभएकै रहेनछ ।

नेपाली आधुनिक कविताहरू धेरै प्रकाशित हुन थालेदेखि नै

भन्सारमा सरुवा माग्नेहरू बढेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानले कविता प्रतियोगिता आयोजना गर्न थालेपछि

देशमा आत्महत्या गर्नेहरू बढेका छन् ।

मेरो कुरा पत्याउनुहुन्न भने घटनाहरूलाई एक पटक

पुनः अध्ययन गरेर हेर्नुहोस् ।

कविताहरू धेरै प्रकाशित हुन थालेदेखि नै

डाक्टरको शुल्क बढेको हो

शिक्षकहरू कुटिन थालेका हुन्

राजनीतिज्ञहरूले झुट बोल्न थालेका हुन्

तेलमा मिसावट हुन थालेको हो

सांसदहरू बैठकमा निदाउन थालेका हुन्

सहकारी ठगी सुरु भएको हो

महँगी बढेको हो, कारखानामा तालाबन्दी भएको हो

पाँच वर्षमा १० वटा सरकारहरू बन्न थालेका हुन्

र दलितहरूले सहरमा कोठा नपाउने भएका हुन् ।”

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.