साहित्यपोस्ट डट कम

कविता : समाज भूपीको नोकर हो र ?

कविता : समाज भूपीको नोकर हो र ?

भाग -३

मैले हिजो मात्र

साझाको नयाँ व्यवस्थापनलाई भेटेर भनेँ

“लेखनाथ बुढाको

कविता प्रकाशन गर्न बन्द गर्नुहोस्।”

ती बुढा

कवि हुन्

कि

कुनै माफियाका सरदार ?

किनकि

जुन दिनदेखि

साझाले तिनका कविता छाप्न थाल्यो

त्यही दिनदेखि

देशमा

अपराध बढ्यो

भ्रष्टाचार मौलायो

अन्याय संस्थागत भयो

अत्याचार सामान्य बन्यो

असमानता नीति बन्यो

गरिबी नियति बन्यो

कुशासनले

राज्यको भाषण लेख्न थाल्यो ।

नपत्याए

तथ्याङ्क हेर्नुहोस्

साझाले तिनका कविता छापेपछि

देशका सबै सूचकहरू

अँध्यारोतिर मोडिएका छन् ।

मैले उनीहरूलाई भनेँ

“बुढाले

कविता लेखेरै

देशलाई

आफ्नो कब्जामा लिएका छन्।”

नेपाली कविहरू

किनिएका छन्

कलमहरू

भाडामा लगाइएका छन् ।

देश कब्जा गर्ने

अभूतपूर्व

गोप्य षड्यन्त्रअनुसार

तिनले

कविता लेखेका हुन् ।

“राजनीति नगर्नु,”

“चुनाव नलड्नु,”

“सत्ता हातमा नलिनु,”

बरु

“कवि बनेर

समाज बदल्ने

प्रतिबद्धता देखाउनु”

यही मन्त्र

सरदार बुढाले

कविहरूलाई

जपाएका हुन् ।

त्यही योजनाअनुसार

आज

सबथोक

ठिकै भइरहेको छ

जस्तो देखिन्छ ।

जुम्लादेखि जापानसम्म

सञ्जाल फैलिएको छ ।

मल्ल र सङ्ग्रौला

सल्लाहकार बनेका छन्

देवकोटा

रणनीति कोर्छन्

भूपी

घोषणापत्र पढ्छन् ।

ती बुढाले

मलाई त्यतिबेलै भनेका थिए

“तपाईं

हेर्दै जानुहोस्,

कविता लेखेर

म तपाईंको देशलाई

कसरी

आफ्नो बनाउँछु।”

त्यही योजनाअनुसार

ऋषिदेखि बुढासम्म

गान्धीजस्तो चस्मा

लगाइएको छ।

“चुनाव लड्दिनँ,”

“सत्ता आफ्नो हातमा लिन्नँ”

भन्ने

सबै कविहरू

तिनकै

लडाकुहरू हुन्।

इन्टरपोलको आँखाबाट

बच्न सरदार

अहिले भूमिगत छन्।

नपत्याए देशको

यो भयावह तथ्याङ्क

हेर्नुहोस्

बुढा भूमिगत भएदेखि

अपराध बढेको बढ्यै छ

भ्रष्टाचार थाकेको छैन

कुशासन

सत्तामा आराम गरिरहेको छ।

कविहरूले

प्रतिबद्ध भएर

देश बदल्ने

कविताहरू लेखिरहेका छन्

त्यही अनुपातमा

गरिबी

पुस्तौँ बढिरहेको छ।

देशप्रेमले

ओतप्रोत कविताहरू

छापिएका छापिएकै छन्

महिला–हिंसा

त्यसै गरी

बढेको बढ्यै छ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.