(भाग–२)
कविले अति त नगर्नु नि !
जुन कविको कविताले चुहिने धारोबाट
पानी चुहिन रोक्न सक्दैन
त्यस कविताले देश र समाज बदल्न नहिँड्नु नि !
तपाईँ कविता लेखेर समाज बदल्न चाहनुहुन्छ भने
याद गर्नुहोस् तपाईँले लेखेको कविताकै कारणले
समाज अर्को सय वर्ष बदलिने छैन ।
किनकि वासुशशीले लेखेको कविताले
समाजलाई आजसम्म बदलेकै छैन ।
त्यसैले, समाज बदल्नु छ भने राजनीति गर्नुहोस्
चुनाव लड्नुहोस्, सत्ता आफ्नो हातमा लिनुहोस् ।
किनकि समाज तपाईँको कार्यालयको पिउन त होइन नि
तपाईँले ‘बदली’ भन्नासाथ बदलिहाल्ने !
याद गर्नुहोस्, तपाईँले कविता लेखेकोले नै
देश र समाज नबदलिएको हो ।
मैले तपाईँहरू सबैका कविताहरूको
एक–एक हिसाब राखेको छु
किनकि तपाईँहरूका कविताहरूले गर्दा नै
मेरो गाउँका सबै ठिटा ठिटीहरू विदेशतिर लागेका हुन् ।
मेरो कुरा नोट गर्नुहोस्
देशमा कुशासन बढ्नुको मूल कारण नै कविता हो।
नेपाली कविले ‘चुनाव लड्दिनँ
सत्ता आफ्नो हातमा लिन्नँ’ भन्दै कविता लेख्न भागेकोले नै
देशको यो दुर्दशा भएको हो ।
जातीय छुवाछूत नहट्नुको जिम्मेवारी मल्लले लिनुपर्छ ।
उनी छुवाछूत हटाउन सांसद नबनेकोले नै
देशबाट छुवाछूत नहटेको हो ।
सत्ता आफ्नो हातमा लिनुभन्दा ‘पुण्यको काम कविता लेख्नु हो’
भनेर उनले कविता रोजेकोले नै
देश छुवाछूतको भासमा जाकिएको हो ।
देशको अहिलेको दुर्गतिको शत-प्रतिशत
जिम्मेवारी सङ्ग्रौलाले लिनुपर्छ ।
उनी कविता धेरै भट्याउँछन् ।
उनले कविता भट्याएकोले नै
मेरो गाउँका किसानहरूले मल नपाएका हुन् ।
उनले सत्ता आफ्नो हातमा लिन नमानेकोले नै
धनी झन् धनी र गरिब झन् गरिब भएको हो ।
उनले प्रधानमन्त्री नबनेर कविता मात्र
भट्याएकोले देश हरिकङ्गाल भएको हो ।
मैले उनलाई धेरैपल्ट भनेँ कि
कविता भट्याएर देश बदलिँदैन ।
देश बदल्नु छ भने सत्ता आफ्नो हातमा लिनुहोस्।
तर उनले पनि मल्लले झैँ कविता भट्याउने सजिलो काम रोजे ।
उनको र चोरको बीचमा केही न केही साँठगाँठ हुनुपर्छ
किनकि उनको कविता सुनिरहेको बेलामा नै
चोरले मेरो घरमा चोरी गरेको हो ।
प्रधानजीले मलाई शोषण अन्त्य गर्ने सूत्र सोध्दा
मैले त्यतिबेलै भनेको थिएँ कि
चुनाव लड्नुहोस्, सत्ता आफ्नो हातमा लिनुहोस्
सरकारको नेतृत्व गर्नुहोस् ।
तर ‘राजनीति फोहोर कर्म हो
भन्दै सफा कविता लेखेर उनी शोषण अन्त्य गर्ने जादु खोज्नतिर लागे ।
मैले उनलाई त्यतिबेलै भनेको थिएँ कि
शोषण तपाईँको कविता मन पराउने पाठक त होइन
जसले तपाईँको कविता पढेर आफ्नो मन बदलेला र
पत्रकार सम्मेलन गरेर घोषणा गर्ला कि
“प्रधानजीले कविता लेख्नुभएको छ
अब बिजनेस गर्न अन्त जाऔँ ।”
देशमा आज पनि शोषण छ भने त्यो त प्रधानजीकै कारणले हो।

