साहित्यपोस्ट डट कम

कविता : समाज भूपीको नोकर हो र ?

कविता : समाज भूपीको नोकर हो र ?

भाग–१

कविता लेखेर समाज बदलिँदैन ।

समाज बदल्नु छ भने सत्ता हातमा लिनुहोस् ।

कविता लेखेर मेरो खेतमा धान त फल्दैन ।

धानको कुरा छोडिदिऊँ,

कविता लेखेर जाबो रुघाखोकी त निको हुँदैन ।

तपाईँ चाहनुहुन्छ कि

तपाईँले लेखेको कविताले देशबाट गरिबी अन्त्य होस् !

गरिबी अन्त्य गर्नु छ भने राजनीति गर्नुहोस् ।

कविता लेखेर भ्रष्टाचार अन्त्य हुने भए,

देवकोटाले कविता लेखेपछि भ्रष्टाचार अन्त्य भइसक्थ्यो ।

भ्रष्टाचार अन्त्य भएन

किनकि उनले सत्ता हातमा लिएनन् ।

उनले गर्दा नै देशमा भ्रष्टाचार बढेको हो ।

कविता नलेखेर भूपीले सत्ता आफ्नो हातमा लिएको भए

समाज त्यतिबेलै सुध्रिन्थ्यो ।

भूपीले कविता लेखेकोले नै समाज नसुध्रिएको हो ।

भूपीले कविता लेखे भन्दैमा

समाजले आफूलाई बदल्नुपर्ने कुनै कारण छ ?

समाज भूपीको नोकर हो र—

बदलिऊ भन्नासाथ बदलिनुपर्ने !

रिमालले नेपाली भाषामा कविता लेखे भन्दैमा

नेपालको प्रहरी महानिरीक्षकले

तस्करलाई गिरफ्तार गर्नुपर्ने कुनै कारण छ ?

रिमाल प्रहरी महानिरीक्षकका हाकिम हुन् र ?

घिमिरेले कविता लेखे भन्दैमा

अपराधीले अपराध गर्न छोडिदिनुपर्ने ?

घिमिरे अपराधीहरूका नाइके हुन् र

उनले भन्दैमा दुई–तीनवटा हत्याहरू कम हुनुपर्ने !

वास्तवमा देशमा अपराध बढेको छ भने

त्यो उनकै कविताको कारणले हो ।

उनीजतिको मान्छेले कविता नलेखेर

सत्ता आफ्नो हातमा लिएको भए

देशमा कोही अपराधी बन्दैन थियो ।

सिद्धिचरणले कविता लेखे भन्दैमा

नेपाल सरकारले सुशासन दिइहाल्नुपर्ने हुन्छ र ?

सरकारले उनीबाट तलब थाप्छ र

उनले भनेको खुरुखुरु मान्नुपर्ने ?

कोइरालाले कविता लेखेकोले ठेकेदारले

सडक दुई महिना चाँडो सक्याएको छ र ?

एकफेर इतिहास पढ्नुहोस् त

उनले सत्ता हातमा नलिएर कविता लेख्न बसेपछि

आयोजनाहरूका लागत बढेको हो कि होइन ?

काइँलाको कविताले सरकारी कर्मचारीहरूको आयामलाई बदलेको छ ?

सत्य त के हो भने

उनले कविता लेखेपछि मात्र कर्मचारी सङ्गठनहरू खुलेका हुन् ।

कविता लेख्नमा व्यस्त उनी सत्तामा कहिल्यै आउँदैनन्

भन्ने बुझेर नै कर्मचारीहरूले ढिलासुस्ती गरेका हुन् ।

वल्लभले कविता लेखेकोले कुनै बलात्कारीले आत्मसमर्पण गरेको छ ?

बरु उनी सत्ता आफ्नो हातमा लिन्न भन्दै सांसद नबनेर

भागेकोले देशका महिलाहरू असुरक्षित भएका हुन् ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.