भाग–१
कविता लेखेर समाज बदलिँदैन ।
समाज बदल्नु छ भने सत्ता हातमा लिनुहोस् ।
कविता लेखेर मेरो खेतमा धान त फल्दैन ।
धानको कुरा छोडिदिऊँ,
कविता लेखेर जाबो रुघाखोकी त निको हुँदैन ।
तपाईँ चाहनुहुन्छ कि
तपाईँले लेखेको कविताले देशबाट गरिबी अन्त्य होस् !
गरिबी अन्त्य गर्नु छ भने राजनीति गर्नुहोस् ।
कविता लेखेर भ्रष्टाचार अन्त्य हुने भए,
देवकोटाले कविता लेखेपछि भ्रष्टाचार अन्त्य भइसक्थ्यो ।
भ्रष्टाचार अन्त्य भएन
किनकि उनले सत्ता हातमा लिएनन् ।
उनले गर्दा नै देशमा भ्रष्टाचार बढेको हो ।
कविता नलेखेर भूपीले सत्ता आफ्नो हातमा लिएको भए
समाज त्यतिबेलै सुध्रिन्थ्यो ।
भूपीले कविता लेखेकोले नै समाज नसुध्रिएको हो ।
भूपीले कविता लेखे भन्दैमा
समाजले आफूलाई बदल्नुपर्ने कुनै कारण छ ?
समाज भूपीको नोकर हो र—
बदलिऊ भन्नासाथ बदलिनुपर्ने !
रिमालले नेपाली भाषामा कविता लेखे भन्दैमा
नेपालको प्रहरी महानिरीक्षकले
तस्करलाई गिरफ्तार गर्नुपर्ने कुनै कारण छ ?
रिमाल प्रहरी महानिरीक्षकका हाकिम हुन् र ?
घिमिरेले कविता लेखे भन्दैमा
अपराधीले अपराध गर्न छोडिदिनुपर्ने ?
घिमिरे अपराधीहरूका नाइके हुन् र
उनले भन्दैमा दुई–तीनवटा हत्याहरू कम हुनुपर्ने !
वास्तवमा देशमा अपराध बढेको छ भने
त्यो उनकै कविताको कारणले हो ।
उनीजतिको मान्छेले कविता नलेखेर
सत्ता आफ्नो हातमा लिएको भए
देशमा कोही अपराधी बन्दैन थियो ।
सिद्धिचरणले कविता लेखे भन्दैमा
नेपाल सरकारले सुशासन दिइहाल्नुपर्ने हुन्छ र ?
सरकारले उनीबाट तलब थाप्छ र
उनले भनेको खुरुखुरु मान्नुपर्ने ?
कोइरालाले कविता लेखेकोले ठेकेदारले
सडक दुई महिना चाँडो सक्याएको छ र ?
एकफेर इतिहास पढ्नुहोस् त
उनले सत्ता हातमा नलिएर कविता लेख्न बसेपछि
आयोजनाहरूका लागत बढेको हो कि होइन ?
काइँलाको कविताले सरकारी कर्मचारीहरूको आयामलाई बदलेको छ ?
सत्य त के हो भने
उनले कविता लेखेपछि मात्र कर्मचारी सङ्गठनहरू खुलेका हुन् ।
कविता लेख्नमा व्यस्त उनी सत्तामा कहिल्यै आउँदैनन्
भन्ने बुझेर नै कर्मचारीहरूले ढिलासुस्ती गरेका हुन् ।
वल्लभले कविता लेखेकोले कुनै बलात्कारीले आत्मसमर्पण गरेको छ ?
बरु उनी सत्ता आफ्नो हातमा लिन्न भन्दै सांसद नबनेर
भागेकोले देशका महिलाहरू असुरक्षित भएका हुन् ।

