साहित्यपोस्ट डट कम

कविता : साल्पा

कविता : साल्पा

साल्पा !!

नढाँटी भन ल

तागेरा निङ्वाफुमाले बादलको सृष्टि गर्नेबित्तिकै

प्रमिथस आगो लिएर झर्दा, जल लिएर झरेकी झरी हौ रे तिमी ?

आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी हौ रे तिमी ?

हरेक पूर्णिमाका रातहरूमा आकाशबाट बासन्ती पूर्णचन्द्रमाले

बारम्बार चुम्बन गर्दा, लाजले भुतुक्क हुँदै रङ बदल्ने

साल्पा पोखरी हौ रे तिमी ?

गुराँसको यौवन पहाडका गालाभरि राताम्मे पारेर

कोमल शरीरभरि नागचम्पाको सुगन्धी अत्तर उमारेर

मुस्कुराउँदै नौलाख ताराहरूसँग आँखा झिम्काउँदै

नौलाख किराँतको सृष्टि गर्ने माया अजम्बरी हौ रे तिमी ।

मुन्धुम–नगरी, साल्पा पोखरी हौ रे तिमी ।

साल्पा !

इत्रिँदा–इत्रिँदै रिकापा र रिभ्याँमाले

सेतो हाँसलाई लभलेटर पठाएर डेटिङ गर्दागर्दै

नाइम्मा नामकी छोरी जन्माएकी

र साइनोमा हाइविष्णु भनेपछि रिभ्याँमाले पारुहाङसँग बिहे गरिन् रे !

रिकापालाई साल्पै राजा र रिभ्याँमालाई साल्पै रानी भनेको

देखिजान्ने र सुनिजान्ने साल्पा पोखरी हौ रे तिमी ?

सिलिछोमा राजारानीको सिली देखेर सिलिछो नाम राख्ने प्रथम किन्नरी तिमी ।

“हरबहर गोरु दाएर आउनु, साल्पा माईको मोरेछी फूल लिएर जानु”

उठानदेखि बैठानदेखि बर मागी ल्याउनु गाईथानदेखि

“सये राजा सयेसये, सये रानी सयेसये” गीतमा

आकाशैमुनि र धर्तीमाथि सिलिचोङको सिउर लर्काउँदै नाच्ने मालचरी तिमी ।

बराह पोखरी, रौता पोखरी र सभा पोखरीसँग

मानव कल्याणको अध्यादेश लैजाने साल्पा पोखरी तिमी ।

कुण्डमा नम्बरी तिमी, फूलमा बाबरी, मखमली र गोदावरी तिमी ।

छातीमा चोमोलुङ, खिम्पालुङ र माक्पालुङको छाया बोकेर

मुटुमा मुन्धुमको माया बोकेर पिरतीको फूल फुलाउने प्रीतिलहरी तिमी ।

नीलिमाको सौन्दर्यमा तायामा–खियामाको चुल्ठो सजाउने कादम्बरी तिमी ।

भुमेलुङमाथि माखालुङ, दाखालुङ र पाखालुङ उठाएर

सुप्तुलुङ पूजा गर्न सिकाउँदै पाछाको धर्म थामिल्याउने धन्वन्तरी तिमी ?

मनकामनादेखि खुवालुङसम्मको आशीर्वाद बटुलेर

मान्छेलाई जीवनको इन्द्रेणी सिउँरिदिने देव–नगरी हौ रे !

आफ्नो जल–अमृतले सिँचन गरेर अक्सिजनलाई पापमुक्त बनाउने गङ्गा श्रीहरि तिमी ।

गुन लगाउने गुनकेशरी तिमी ।

तागेरा निङ्वाफुमाले आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी तिमी

शब्दहरूमा गुञ्जिने स्वरकी किन्नरी तिमी ।

तिम्रा सुनापाती र भैरुङपातीका माधुर्य संसारमा छर्ने

तिम्रा गालामा फुल्ने गुराँसको सौन्दर्य शब्दहरूमा भर्ने

योगमाया र षडानन्दको गाथा बोकेर, दिलभरि सम्मानको सगरमाथा बोकेर

तिम्रो जन्मोत्सवबाट हामी जाँदैछौँ

मनभरि सम्झनाको तरेली बोकेर, आँखाभरि मायाको थोपाले भरिएका परेली बोकेर ।

आशीर्वाद पठाइरहनू तिमी, अलङ्कारले सजाइरहूँला

सम्झेर ढोल–झ्याम्टा बजाइरहूँला ।

“सैरानी सै सै सै, सैराजा सै सै” छुट्नुको पीडा गाह्रो छ कठै !

तागेरा निङ्वाफुमाले आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी हौ तिमी

सपनामा बारम्बार आइरहने मेरो आस्थाकी सुम्निमा परी हौ तिमी ।

हरेक मिर्मिरेमा शिवधाराको जल चढाउँदै हात जोडी सेवा गरिरहूँला

मन चढाएर भए पनि अरुणको डुङ्गा तरिहूँला ।

मायाको प्रतीक बनेर मुटुकै आकारमा ब्युँझिएकी साल्पा पोखरी हौ तिमी ।

सपनामा कहिलेकाहीँ चाल मार्दै आएर भाग्य चुमेर जाने घुम्टोकी सुन्दरी तिमी ।

तिमी सुके धर्ती दुख्छ होला भनेर हरेक बिहान अञ्जुलीभरि जल चढाउँछु

तिमी दुखे हिमाल झुक्छ भनेर मिर्मिरेको एक पल चढाउँछु ।

तागेरा निङ्वाफुमाले बादलको सृष्टि गर्नेबित्तिकै

सरर अमृत झरी बनेकी साल्पा पोखरी तिमी ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.