साल्पा !!
नढाँटी भन ल
तागेरा निङ्वाफुमाले बादलको सृष्टि गर्नेबित्तिकै
प्रमिथस आगो लिएर झर्दा, जल लिएर झरेकी झरी हौ रे तिमी ?
आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी हौ रे तिमी ?
हरेक पूर्णिमाका रातहरूमा आकाशबाट बासन्ती पूर्णचन्द्रमाले
बारम्बार चुम्बन गर्दा, लाजले भुतुक्क हुँदै रङ बदल्ने
साल्पा पोखरी हौ रे तिमी ?
गुराँसको यौवन पहाडका गालाभरि राताम्मे पारेर
कोमल शरीरभरि नागचम्पाको सुगन्धी अत्तर उमारेर
मुस्कुराउँदै नौलाख ताराहरूसँग आँखा झिम्काउँदै
नौलाख किराँतको सृष्टि गर्ने माया अजम्बरी हौ रे तिमी ।
मुन्धुम–नगरी, साल्पा पोखरी हौ रे तिमी ।
साल्पा !
इत्रिँदा–इत्रिँदै रिकापा र रिभ्याँमाले
सेतो हाँसलाई लभलेटर पठाएर डेटिङ गर्दागर्दै
नाइम्मा नामकी छोरी जन्माएकी
र साइनोमा हाइविष्णु भनेपछि रिभ्याँमाले पारुहाङसँग बिहे गरिन् रे !
रिकापालाई साल्पै राजा र रिभ्याँमालाई साल्पै रानी भनेको
देखिजान्ने र सुनिजान्ने साल्पा पोखरी हौ रे तिमी ?
सिलिछोमा राजारानीको सिली देखेर सिलिछो नाम राख्ने प्रथम किन्नरी तिमी ।
“हरबहर गोरु दाएर आउनु, साल्पा माईको मोरेछी फूल लिएर जानु”
उठानदेखि बैठानदेखि बर मागी ल्याउनु गाईथानदेखि
“सये राजा सयेसये, सये रानी सयेसये” गीतमा
आकाशैमुनि र धर्तीमाथि सिलिचोङको सिउर लर्काउँदै नाच्ने मालचरी तिमी ।
बराह पोखरी, रौता पोखरी र सभा पोखरीसँग
मानव कल्याणको अध्यादेश लैजाने साल्पा पोखरी तिमी ।
कुण्डमा नम्बरी तिमी, फूलमा बाबरी, मखमली र गोदावरी तिमी ।
छातीमा चोमोलुङ, खिम्पालुङ र माक्पालुङको छाया बोकेर
मुटुमा मुन्धुमको माया बोकेर पिरतीको फूल फुलाउने प्रीतिलहरी तिमी ।
नीलिमाको सौन्दर्यमा तायामा–खियामाको चुल्ठो सजाउने कादम्बरी तिमी ।
भुमेलुङमाथि माखालुङ, दाखालुङ र पाखालुङ उठाएर
सुप्तुलुङ पूजा गर्न सिकाउँदै पाछाको धर्म थामिल्याउने धन्वन्तरी तिमी ?
मनकामनादेखि खुवालुङसम्मको आशीर्वाद बटुलेर
मान्छेलाई जीवनको इन्द्रेणी सिउँरिदिने देव–नगरी हौ रे !
आफ्नो जल–अमृतले सिँचन गरेर अक्सिजनलाई पापमुक्त बनाउने गङ्गा श्रीहरि तिमी ।
गुन लगाउने गुनकेशरी तिमी ।
तागेरा निङ्वाफुमाले आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी तिमी
शब्दहरूमा गुञ्जिने स्वरकी किन्नरी तिमी ।
तिम्रा सुनापाती र भैरुङपातीका माधुर्य संसारमा छर्ने
तिम्रा गालामा फुल्ने गुराँसको सौन्दर्य शब्दहरूमा भर्ने
योगमाया र षडानन्दको गाथा बोकेर, दिलभरि सम्मानको सगरमाथा बोकेर
तिम्रो जन्मोत्सवबाट हामी जाँदैछौँ
मनभरि सम्झनाको तरेली बोकेर, आँखाभरि मायाको थोपाले भरिएका परेली बोकेर ।
आशीर्वाद पठाइरहनू तिमी, अलङ्कारले सजाइरहूँला
सम्झेर ढोल–झ्याम्टा बजाइरहूँला ।
“सैरानी सै सै सै, सैराजा सै सै” छुट्नुको पीडा गाह्रो छ कठै !
तागेरा निङ्वाफुमाले आकाशको सृष्टि गर्नेबित्तिकै धर्तीमा झरेकी परी हौ तिमी
सपनामा बारम्बार आइरहने मेरो आस्थाकी सुम्निमा परी हौ तिमी ।
हरेक मिर्मिरेमा शिवधाराको जल चढाउँदै हात जोडी सेवा गरिरहूँला
मन चढाएर भए पनि अरुणको डुङ्गा तरिहूँला ।
मायाको प्रतीक बनेर मुटुकै आकारमा ब्युँझिएकी साल्पा पोखरी हौ तिमी ।
सपनामा कहिलेकाहीँ चाल मार्दै आएर भाग्य चुमेर जाने घुम्टोकी सुन्दरी तिमी ।
तिमी सुके धर्ती दुख्छ होला भनेर हरेक बिहान अञ्जुलीभरि जल चढाउँछु
तिमी दुखे हिमाल झुक्छ भनेर मिर्मिरेको एक पल चढाउँछु ।
तागेरा निङ्वाफुमाले बादलको सृष्टि गर्नेबित्तिकै
सरर अमृत झरी बनेकी साल्पा पोखरी तिमी ।

