साहित्यपोस्ट डट कम

कविता : सालिग्राम

कविता : सालिग्राम

झ्याम्पल, कुन्जा र गैँती बोकेर

कलिलो घामले खोलालाई स्पर्श नगर्दै

खोलामा पुग्नुहुन्थ्यो बा

र हर बिहान खोलामै बित्थ्यो बाको समय ।

त्यसरी एक दिन बन्यो हाम्रो घर

त्यस दौरान कति निराकार ढुङ्गाले आकार पाए

त्यो पैँयु खोलालाई थाहा छ ।

त्यो खोलाको सङ्गीत

शीतले रुझेका ढुङ्गाको सूक्ष्म आभास

बिहानीका चिसा चट्टान

ती सबैसँग साक्षात्कार हुँदै गर्दा

बालाई लागेको हुनुपर्छ

सङ्घर्षका अनेकन शृङ्खला फेरिएर जानेछन् बिस्तारै

जसरी कि ओभाउँदै जान्छ शीत घामको स्पर्शले ।

जग्गा सम्याउनु, ढुङ्गा बोक्नु

ढुङ्गा बोक्ने डोको आफैँ बुन्नु

घरलाई चाहिने हरेक सानातिना चिज बटुल्नु

फाटिसकेका डोका टालटुल गर्नु

समग्रमा श्रम र पसिनाको दलिन उभ्याउनु

जिन्दगी उभ्याउनु रहेछ ।

कालान्तरमा

दुःखको नाम्लो बोकेर फेरि तर्नुभो बा समुद्र

विराट सङ्घर्षको अर्को अध्यायमा ठिङ्ग उभिनुभो बाह्रौँ घण्टा

फलाम बोक्नुभो, कङ्क्रिट मुछ्नुभो

आफैँलाई बाँधेर सेफ्टी बेल्टले झुण्डिनुभो

स्काफोल्डिङ संरचनाहरूमा ।

यसरी धान्दै जाँदा जिन्दगी

सायद थाके बाका काँधहरू

थाके होलान् पाइतालाहरू

तब बाले बिसाउनुभो जिन्दगीलाई जन्मभूमिको छातीमा

र आज बा कालीगण्डकीको सालिग्राम बन्नुभएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.