साहित्यपोस्ट डट कम

कविता : साहित्यपोष्ट तिमीलाई शुभकामना

कविता : साहित्यपोष्ट तिमीलाई शुभकामना

पहिलोचोटि अनलाइनको दुनियाँमा

साहित्यको दीप बाल्ने साहस

कुनै व्यापार थिएन

केवल शब्दको विश्वास लिएर

केही युवाहरू अघि बढे

तिनका सपना जति कोमल

दृढता त्यति नै कठोर थियो ।

समाजले सोधिरहन्थ्यो

“के टिक्ला ?”

समय कठोर भएर उभिएथ्यो

“के निरन्तरता पाउला ?”

तर उनीहरूले उत्तर दिनुभन्दा

केवल लेखिरहे, हिँडिरहे

मौनता भित्रभित्रै आवाज बनेर ।

मानिसहरू किन पछि हट्छन् ?

सायद असफलताको डरले

सायद साथ छुट्ने चिन्ताले त होला

तर साहित्यपोष्ट !

परिवारको माया शब्दमा बाँच्यो

साथीहरूको धड्कन हौसलाले सजायो

“हामी छौँ नि”

यही वाक्यले थामिरह्यो यो यात्रालाई ।

पक्कै कयौँ रातहरू निद्राबिना बिते होलान्

केही आलोचना चुपचाप सहे होलान्

तर ती साहसी युवाहरूको दृढता

कहिल्यै न त कमजोर भयो, न रोकियो

किनकि उनीहरूमा चेत थियो

सपना देख्नु र सँगै

सपना निभाउनु नै असलमा यात्रा हो ।

आज छ वर्षको उज्यालो बोकेर

त्यही यात्राले उत्सव मनाइरहेको छ

हरेक शब्दमा पसिना मिसिएको यात्रा

हरेक कथामा विश्वास झल्किरहेछ ।

साहित्यपोष्ट !

तिमी केवल एउटा प्लेटफर्म मात्र होइनौ

तिमी त भावना हौ, तिमी त हिम्मत हौ

तिमी त ती सबै अपूरा इच्छाहरूको

पूरा हुने एक अद्भुत बाटो हौ ।

साहित्यपोष्ट ! तिमीले

शङ्काहरू पार गर्यौ

आफ्ना कामनाहरू पूरा गर्यौ

टिमका चाहनाहरूलाई एक स्वर दियौ

र पो आज पनि उस्तै जोसमा अघि बढिरहेछौ ।

यस शुभ अवसरमा

साहित्यपोष्टलाई

हजारौँ शब्दको आशीर्वाद

लाखौँ पाठकको माया

र अनन्त यात्राको मुरीमुरी कामना ।

अन्तमा फेरि, साहित्यपोष्ट !

तिमीलाई जन्मदिनको हार्दिक शुभकामना ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.