साहित्यपोस्ट डट कम

कविता : सहर

कविता : सहर

आँखाभरि रहरका सपनाहरू बोकेर

गाउँ छाडेको ऊ

थाहा छैन आज सहरको

खै कुन गल्तीमा आफ्नो जीवन खोजिरहेछ ?

आफ्नो अस्तित्व खोजिरहेछ

जीवनको महत्त्व खोजिरहेछ ।

भोकमा खानु छैन,

निद्रामा सुत्नु छैन।

आफ्ना रहर र सपनालाई टार्न

दिनदिनै आफ्नो जिन्दगीलाई खुम्च्याउन बाध्य भइरहेछ

रहरको भोकलाई गरिबी र आवश्यकताको अचारसँग

कपाकप खाइरहेछ ।

तिर्न नसक्दा घरबेटीको भाडा

एक पटक गाउँको आफ्नो जीर्ण बुढो घरलाई सम्झिन्छ

परिवारको इच्छा र आवश्यकतालाई सम्झिन्छ

र सम्झिन्छ आफ्नो वास्तविकतालाई ।

सकिरहेको छैन उसले

घरको छानो फेर्न

भोकमरीले भरिएको रात टार्न

आमाबाबुको रहर पूरा गर्न

आफ्नै घरको इज्जत फेर्न र

गरिबीले च्यापिएको साहुको ऋण तिर्न ।

सम्झिरहेछ आफ्नो बाबुले दिएको अर्ती अनि उपदेश

तर उसलाई केले, कता तानिरहेछ?

खै ऊ किन विरक्तिएछ ?

छैन उसको मनमा धीरता

बगिरहेछन् असरल्ल आँसुका धारा

र भइरहेछ उसको जीवन बेवारिसे ।

एउटा गाउँले गरिब आज आफ्नै जिन्दगीदेखि हार खाएर

मृत्युवरण गर्न पुगिसकेछ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.