पहाडको चिसो बिहानहरूमा
म आफूलाई पूर्ण ठान्थेँ
जसरी म उभिएको माटोले
मेरो अस्तित्वलाई पूर्ण बनाएको थियो ।
तर समय
त्यो अदृश्य शिक्षक
बिस्तारै मलाई सिकायो
म पूर्ण थिइनँ,
म केवल
आफ्नै सीमित विश्वासको
नक्साभित्र बाँचेको मानिस रहेछु ।
म बुबाको आँखालाई
अझै सम्झिन्छु
कठोर थिएन त्यो दृष्टि
तर त्यसले
स्वतन्त्रताको ढोका
आधा मात्र खोलिदियो ।
त्यसले मलाई सिधा
बनायो
तर भित्र कतै
डरको रेखा पनि कोरिदियो।
आज म स्वीकार गर्छु
मेरो धेरै मौनता
सहनशीलता थिएन
त्यो केवल
अस्वीकृत हुने डरको
रूपान्तरित आवाज थियो ।
मैले सत्य देखेँ
तर धेरैपटक त्यसबाट टाढा हिँडेँ
किनकि सत्यले
मेरो सम्बन्धहरू
भत्काइदिने खतरा बोकेको थियो ।
ती क्षणहरूमा
म सहनशील थिइनँ
म केवल
आफैँसँग भागिरहेको मानिस थिएँ।
त्यो महानगर
भीडको सहर
नाराहरूको महासागर ।
त्यहाँ म चिच्याएँ
म भीडसँग मिसिएँ
र केही समय लाग्यो
म परिवर्तन हुँदैछु ।
तर पछि बुझियो
म परिवर्तन होइन
भीडभित्र हराइरहेको
आफ्नै आवाज थिएँ ।
हामीले क्रान्तिका
शब्दहरू उच्चारण गर्यौँ
तर अहंकार
आफ्नै छायामा जिउँदै रह्यो ।
त्यसैले
धेरै परिवर्तनहरू
केवल नाराको स्वरमै
हराए ।
जीवनले मलाई
सबैभन्दा गहिरो चोट
त्यसबेला दियो
जब संसार अगाडि बढिरहेको थियो
र म
आफ्नै अस्तित्वको किनारमा
अड्किएको थिएँ ।
त्यो पीडा मैले
बोलिनँ
तर त्यसले मलाई
भित्रैबाट आकार दियो
मौन र अझ सचेत ।
त्यही मौनताभित्र
मैले पहिलोपटक
आफ्नो छाया देखेँ
म अरूको उज्यालो देखेर
खुसी हुन सक्दिनँ रहेछु ।
त्यो स्वीकार्यता
सबैभन्दा कठोर सत्य थियो।
तर त्यही सत्यले
तोड्न नसके पनि
मलाई रूपान्तरण गर्यो ।
अब म बुझ्छु
सहनशीलता
अरूलाई सहनु होइन
अन्धकारसँग
भाग्नु होइन
बरु त्यससँग बसेर
संवाद गर्नु हो ।
परिवार मेरो अस्तित्वको मौन रक्षा ।
छोराछोरीको आँखामा
मैले आफ्नै भविष्य देखेँ
र डर लाग्यो
यदि म अधुरो नै रहिरहेँ
भने मेरो अधुरोपन
उनीहरूको रगतमा
सर्नेछ ।
त्यसैले
म आफैँलाई पुनः बनाउँदै छु
ढिलो घाइते हुँदै
तर सचेत रूपमा ।
विदेश
जहाँ स्वतन्त्रता छ
तर मानिस अझ एक्लो छ ।
त्यही एक्लोपनले
मलाई फेरि सम्झायो
सहनशीलता केवल
समाजसँग होइन,
आफ्नै आत्मासँगको
सबैभन्दा कठिन सम्झौता हो ।
आजको संसार
आवाजले भरिएको छ
तर श्रवण हराएको छ ।
सबै बोल्छन्
तर कोही पनि
सुन्न जान्दैन ।
राजनीति
सिद्धान्तभन्दा टाढा पुगेको छ
र मानिस
आफ्नो विचारभन्दा ठूलो हुन खोजेको छ ।
त्यस क्षण म फेरि
प्रश्न गर्छु
यदि
हामी आफ्नै विचारका
कैदी भइसकेका छौँ भने
स्वतन्त्रता
कहाँ बाँच्छ ?
सहनशीलता
त्यहीँ जन्मिन्छ
जहाँ मानिस
आफ्नै सत्यमाथि
प्रश्न गर्न सक्छ ।
तर यो सजिलो छैन ।
किनकि
आफ्नो विश्वासमाथि शंका गर्नु
मानव साहसको
सबैभन्दा गहिरो रूप हो ।
म अझै पनि पूर्ण
छैनँ
म चुक्छु
म रिसाउँछु
म फेरि आफैँमा हराउँछु ।
तर अब म फरक छु
किनकि
म आफ्नो असफलता
हेर्न डराउँदिनँ ।
सायद
यही नै मेरो सानो प्रकाश हो ।
यदि सहनशीलता के हो
भनेर सोधियो भने
म कुनै सिद्धान्त दिँदिनँ ।
म केवल यति भन्छु
यो
त्यो यात्रा हो
जहाँ मानिस
आफ्नै अँध्यारोबाट भाग्दैन
बरु
त्यससँग बसेर
मानिस बन्न सिक्छ ।
र कहिलेकाहीँ
त्यो अँध्यारो
हामीले सोचेभन्दा
अझ इमानदार हुन्छ।

