अगुवाहरूले पिचासको रूप बोकेर
समथर मैदानमा नाङ्गो नाच नाचेको देखेर
सगरमाथा रिसले चुर भएको छ
आँगनमा खेलिरहेका नानीहरूको
निर्दोष अनुहार र आँसु देखेर
यो एक्काइसौँ शताब्दीमा बाँच्न पाउनुपर्छ
पढ्न र लेख्न पाउनुपर्छ
र हामी स्वतन्त्र हुन पाउनुपर्छ भन्दै
विश्वसामु याचना गरिरहेको देखेर
न्यायका प्रतिमूर्तिहरू नतमस्तक छन् ।
सगरमाथाको आधारशिविरबाट
न्यायको नायक मध्यान्नको रापिलो घाममा
हिउँ पगालेर
नरपिचासहरूलाई यमलोकको पिपको समुद्रमा बगाउन
चिसा र हिउँजस्तै ठोस योजना बनाइरहेछ ।
यहाँ सगरमाथालाई
भर्खर पराकम्पनले चिथोरेका सपनाहरूलाई फर्काउनु छ,
नानीहरूको आँखामा आँसु पुछेर
हातमा किताब बोकाएर
नेल्सन, तसलिमा, होची मिन्ह र पारिजात पढाउनु छ
आकाशमा पखेटा नकाटी उड्न र
खुसीले आमाका काखमा भोकै सुत्न सक्ने बनाउनु छ ।
सगरमाथालाई थाहा हुँदैछ, अग्रगमनको नाममा
जराबाट चिथोरिदैछ,
आफ्नै दाजुभाइको नाममा आफ्नै गोत्रहरू
आफ्नै मासु पकाएर खान खोज्दैछन्
एउटै आमाको दुध पिएकाहरू पनि दुधको धारा बिर्सेर
नदीको साँधमा सम्भोग गर्न खोज्दैछन् ।
साँध जोडिएका छिमेकीका झ्यालका प्वालहरूबाट
बनमा मृगसँग खेलिरहेकी सावित्रीको कुमारित्त्व भङ्ग गर्न
दिन दहाडै दृश्य हेर्दै योजना बनाउँदै छन् ।
त्यो बेला,
हिमालयको शालीनता र ध्यान तोडिएर
गडगडाहट नदी जस्तो भएर
आमाका दुधका धाराका कसम खाएर
सगरमाथाको आधारशिविरबाट
यौटा सङ्कल्प बोकेर
एउटा बिरता, स्वाभिमान र स्वतन्त्रता, र सार्वभौमिकता
सत्यको धर्मयुद्धमा ओर्लिनेछ
त्यो बेला यी सबै पीडाहरूलाई बगाएर लैजानेछ
र, काला अनुहार र मनहरूलाई कोसौ टाढा पुऱ्याउने छ
सगरमाथको आधारशिविरबाट ।

