साहित्यपोस्ट डट कम

कविता : सगरमाथाको आधार शिविरबाट

कविता : सगरमाथाको आधार शिविरबाट

अगुवाहरूले पिचासको रूप बोकेर

समथर मैदानमा नाङ्गो नाच नाचेको देखेर

सगरमाथा रिसले चुर भएको छ

आँगनमा खेलिरहेका नानीहरूको

निर्दोष अनुहार र आँसु देखेर

यो एक्काइसौँ शताब्दीमा बाँच्न पाउनुपर्छ

पढ्न र लेख्न पाउनुपर्छ

र हामी स्वतन्त्र हुन पाउनुपर्छ भन्दै

विश्वसामु याचना गरिरहेको देखेर

न्यायका प्रतिमूर्तिहरू नतमस्तक छन् ।

सगरमाथाको आधारशिविरबाट

न्यायको नायक मध्यान्नको रापिलो घाममा

हिउँ पगालेर

नरपिचासहरूलाई यमलोकको पिपको समुद्रमा बगाउन

चिसा र हिउँजस्तै ठोस योजना बनाइरहेछ ।

यहाँ सगरमाथालाई

भर्खर पराकम्पनले चिथोरेका सपनाहरूलाई फर्काउनु छ,

नानीहरूको आँखामा आँसु पुछेर

हातमा किताब बोकाएर

नेल्सन, तसलिमा, होची मिन्ह र पारिजात पढाउनु छ

आकाशमा पखेटा नकाटी उड्न र

खुसीले आमाका काखमा भोकै सुत्न सक्ने बनाउनु छ ।

सगरमाथालाई थाहा हुँदैछ, अग्रगमनको नाममा

जराबाट चिथोरिदैछ,

आफ्नै दाजुभाइको नाममा आफ्नै गोत्रहरू

आफ्नै मासु पकाएर खान खोज्दैछन्

एउटै आमाको दुध पिएकाहरू पनि दुधको धारा बिर्सेर

नदीको साँधमा सम्भोग गर्न खोज्दैछन् ।

साँध जोडिएका छिमेकीका झ्यालका प्वालहरूबाट

बनमा मृगसँग खेलिरहेकी सावित्रीको कुमारित्त्व भङ्ग गर्न

दिन दहाडै दृश्य हेर्दै योजना बनाउँदै छन् ।

त्यो बेला,

हिमालयको शालीनता र ध्यान तोडिएर

गडगडाहट नदी जस्तो भएर

आमाका दुधका धाराका कसम खाएर

सगरमाथाको आधारशिविरबाट

यौटा सङ्कल्प बोकेर

एउटा बिरता, स्वाभिमान र स्वतन्त्रता, र सार्वभौमिकता

सत्यको धर्मयुद्धमा ओर्लिनेछ

त्यो बेला यी सबै पीडाहरूलाई बगाएर लैजानेछ

र, काला अनुहार र मनहरूलाई कोसौ टाढा पुऱ्याउने छ

सगरमाथको आधारशिविरबाट ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.