साहित्यपोस्ट डट कम

कविता : सडकको आवाज

कविता : सडकको आवाज

सिंहदरबार उज्यालो छ, तर देश अन्धकारमै जल्छ

जनताको रगत बेचेर सत्ता महलभित्रै फल्छ ।

भोकले चिच्याएको सत्य यहाँ गोलीझैँ दबाइन्छ

नेपाल आमाको आँसुमा नेताको उत्सव सजाइन्छ ।

सडकका भित्ताभरि विकासका नारा टाँसिएका छन्

तर गाउँका चुल्हाभित्र धुवाँ पनि मर्न थालेका छन् ।

किसानका च्यातिएका हातले देशको भविष्य रोप्छन्

उनीहरूकै छोराछोरी भोकसँगै सपनाहरू बोक्छन् ।

संसदभित्र शब्दहरू ताली बनेर बजिरहन्छन्

तर जनताका घाउहरू चुपचाप रगत बगाइरहन्छन् ।

सिंहासनको स्वादले कति अनुहार फेरिएका छन्

हिजो क्रान्ति बोल्ने ओठ आज सत्तामा बेचिएका छन् ।

युवा सपनाहरू विमानस्थलमै बिदा भइरहेछन्

आमाका आँखाभित्र प्रतीक्षाका बादल जमिरहेछन् ।

देशको माटोले आफ्नै सन्तान रोक्न नसक्दा

नेपाल आमाको मुटु दिनदिनै चर्किरहेछ भित्रभित्रै रुँदा ।

न्याय यहाँ पैसाको अगाडि घुँडा टेकेर बस्छ

गरिबको सत्य अदालतको ढोकाबाहिरै मर्छ ।

शहीदको रगतले रङ्गिएको यो माटो कराइरहेछ

स्वार्थी हातभित्र देशको आत्मा जलिरहेछ ।

तर याद राख

सधैँभरि अन्धकारले बिहानलाई जित्न सक्दैन ।

जब जनताको मौनता आँधी बनेर उठ्नेछ

त्यो दिन सिंहदरबारभन्दा ठूलो आवाज सडकले दिनेछ ।

त्यसपछि न सत्ता रहनेछ, न झुटका भाषणहरू

देश चिनिनेछ किसानका मुस्कान र युवाका सपनाहरू ।

नेपाल आमाको आँसु एकदिन अवश्य सुक्नेछ

र यही माटो फेरि जनताकै गीतमा फुल्नेछ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.