भाषा शब्द होइन ।
भाषा मानिसले संसारलाई स्वीकार गर्ने तरिका हो
एक अदृश्य संरचना जसले
के देख्ने र के नदेख्ने पहिले नै तय गरिदिन्छ ।
जहाँ भाषा हुन्छ
त्यहाँ सत्य कहिल्यै एक्लो हुँदैन
शब्द त देखिने भाग मात्र हो ।
भाषा ज्ञानबाट जन्मिएको होइन
डरबाट जन्मिएको हो ।
पहिलो मानिसले नाम खोजेन
बाँच्ने उपाय खोज्यो ।
मौन आयो इशारा आयो
चिच्याहट आयो
त्यही असहाय प्रतिक्रिया भाषा बन्यो ।
त्यसैले, भाषा जन्मिँदा न राम्रो थियो
न खराब केवल अस्तित्वको प्रतिक्रिया थियो ।
तर, भाषा बढ्दै जाँदा चेतनाले
आफ्नै औजार निर्माण गर्यो
त्यही औजार चेतनामाथि फर्कियो ।
चेतना बहाव हो
भाषा संरचना हो ।
जब भाषा चेतनाको सेवामा हुन्छ
समाज जीवित हुन्छ
जब चेतना भाषाको अधीनमा जान्छ
समाज जड हुन्छ ।
आज हामी अनुभवभन्दा शब्दलाई विश्वास गर्छौँ ।
हामी देखेर होइन
सुनाइएर बुझ्छौँ ।
हामी सोच्दैनौँ, हामी दोहोर्याउँछौँ ।
नेपाली समाजमा चुप लाग्नु संस्कार हो
प्रश्न गर्नु खतरा ।
यहाँ घुमाउरो बोल्नु बुद्धिमानी
सीधा बोल्नु असभ्यता
तर, यो नेपाली समाजको मात्र कथा होइन ।
विश्व सभ्यता यही भाषिक रोगले ग्रस्त छ ।
जहाँ युद्ध “रणनीति” हुन्छ
जहाँ शोषण “अवसर” बन्छ
जहाँ हत्या “दुर्घटना” भनिन्छ
त्यहाँ भाषा अनुभूति होइन
व्यवस्थापन बनेको छ।
शब्द धेरै छन्
अर्थ कम छन् ।
सूचना बग्छ
चेतना सुक्छ ।
यहीँ शब्द खतरनाक हुन्छ
किनकि शब्दले भाषालाई फेरि प्रश्न बनाउँछ ।
नाम तोड्छ, परिभाषा अस्वीकार गर्छ र सोध्छ
कसका लागि यो भाषा यति सुरक्षित छ ?
कसको डर यसले ढाकिरहेको छ ?
यदि भाषा मानिस र संसारबीचको सम्झौता हो भने
आजको सभ्यताले त्यो सम्झौता
शब्दले सजाएर अर्थले तोडिरहेको छ ।
यो निष्कर्ष होइन
यो चेतावनी हो ।
अब प्रश्न तपाईँको हातमा छ
तपाईँ भाषा बोल्दै हुनुहुन्छ
कि भाषाले तपाईँलाई बिस्तारै बोलाइरहेको छ ?

