वसन्त बागमा ओर्ली ऋतु राग रचाउने ।
पूर्णकला अहोरात्र बोट पात नचाउने ।।
जरा धर्ती लता माथि गीत लय समाउने ।
दिव्य चक्षु उघारेर सिर्जनामा रमाउने ।।
हिमालको छटा सौम्य बादलको समागम
चन्द्र सूर्य सखी भाव नाच्छ डाँफे धमाधम ।।
रश्मिमा चम्कियो शीत लय विलय पातमा ।
फूलको आँसु पो हो कि टप्केको मध्य रातमा ।।
घुरेर रजनी रात वायुवेग घुमी फिरी ।
छर्छ प्रकाशको ज्योति जुनकिरी धरा गिरि ।
बगरको चिता चिन्ता छैन नदी प्रवाहमा ।
निरन्तर बगी जान्छ छैन विश्राम राहमा ।
कता दृष्टि कता श्रृष्टि प्रज्ञा चुक्छ बरोबर ।
बादलमा लुकेको छ देखिदैन सरोवर ।।
बेग लिनु थियो उड्दा खस्यो किन बरोबर
तै पनि त अझै भन्छ चुम्ने हो शशिशेखर ।।
ढुङ्गाको भरहो माटो माटोको भर पथ्थर ।
नजोडी आपसी मेल बन्दैन सृष्टिको घर ।।
मुटुमा प्राण सञ्चार मानसाग्नि धरोहर ।
वायुमै बास बस्ने हो हृदयाग्नि चराचर ।
फूलको पनि सौन्दर्य, कतिन्जेल रहन्छर ?
चुँडिन्छ मोह जागेर कि वैलिन्छ स्वयम् हर ।।
सुगन्ध वायुमा मिल्छ रहन्न फूल केसर ।
लय विलय उस्तै छ,छ सबै क्षण भङ्गुर ।।

