साहित्यपोस्ट डट कम

कविता : रुमाल

कविता : रुमाल

प्रियतम !

तिम्रो विलासी कक्षको कुनै निष्प्राण कुनामा

मैले सुम्पिएको सुतीको बुट्टे रुमाल

बेकामे वस्तुझैँ उपेक्षित फालिएको खबरले

मेरो संवेदनाको जग हल्लिएको छ ।

त्यो केवल कपासको रेसा थिएन

मेरा औँलाहरूले बुनेको घोषणापत्र थियो

जहाँ साक्षी बसेका थिए मेरा हरेक टाँकाहरू

तिम्रो र मेरो सामीप्यताको ।

यदि त्यो रुमाल

धर्तीको छाती चिरेर अन्न फलाउने किसानको हातमा हुन्थ्यो भने

पवित्र साक्षात्कार गर्थ्यो उसको पसिनासँग

र शीतल छहारी बन्थ्यो सिर्जनाको कठिन घडीमा ।

फलाम कारखानाको भट्टीमा रगत पगाल्ने मजदुरले पाएको भए

उसले आफ्नो पौरखी हातको मोसो पुछ्दै

नयाँ भूगोलको खाका कोर्ने थियो त्यही रुमालमा ।

बजारको चिसो पेटीमा खोकिरहेका बिर्खे दाइहरू

जसको अस्तित्व नै राज्यको आँखामा अदृश्य छ

तिनले पाएका भए एउटा अन्तिम सहारा मान्थे त्यसलाई ।

पुँजीको यो धुवाँधुलोले निस्सासिएको सडकमा

आफ्नो पहिचान खोज्दै हिँड्ने कुनै माटोको यात्रीले

प्रतिरोधको ढाल बनाउँथ्यो चैतको उन्मत्त हुरीमा ।

वर्षौँदेखि पितृसत्ताको चुल्होको अँध्यारोमा

आफ्नो परिचय डढाइरहेका ती काइली दिदीहरूका लागि

केवल अनुहार पुछ्ने टालो मात्र हुने थिएन त्यो रुमाल

अस्तित्वको उज्यालो ऐना र मुक्तिको अविराम प्रयत्न हुन सक्थ्यो ।

घाँसको भारीसँगै जीवनको रङ्ग साट्ने ती अन्तरीहरूले

कचियाले काटेको रगतपच्छे घाउमा त्यसलाई बेर्दा

क्रान्तिकारी ब्यान्डेज बनेर रगत थाम्ने थियो त्यसले ।

तर बिडम्बना प्रिय !

केवल विनिमयको अङ्कगणित मात्र पढिरहे तिम्रा आँखाले

कहिल्यै बुझेनन् त्यसको महत्त्व र मूल्य ।

श्रमको गन्ध नआउने तिम्रा सुकुमार र संवेदनाहीन हातहरूका लागि

अर्थहीन अवशेष बन्यो त्यो रुमाल

तर श्रमजीवीका लागि भने

जीवनको एउटा सिङ्गो महाकाव्य बन्न सक्थ्यो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.