साहित्यपोस्ट डट कम

कविता : रुखहरूको ज्ञापनपत्र मान्छेहरूलाई

कविता : रुखहरूको ज्ञापनपत्र मान्छेहरूलाई

ए !

आफूलाई चेतनशील प्राणी दाबी गर्ने मान्छेहरू हो !

तिमीहरूले फालेको कार्बन डाइअक्साइड लिने

तिमीहरूलाई अत्यावश्यक अक्सिजन दान दिने

तिमीहरूको पँधेरोमा पानीको अनिकाल

लाग्न नदिन लागिपर्ने र तिमीहरूको गाउँमा

मूर्ख पहिरोको वितण्डा नियन्त्रण गर्न अघि सर्ने

हामी नै हौँ भन्ने कुरा थाहा छ कि छैन ?

अराजक घामपानी र हिंस्रक हुरीबतासको आक्रमणबाट

तिमीहरूलाई बचाउने घर ठड्याउने काठपात

तिमीहरूको भोको पेटलाई खुसी पार्न भात तिहुन पकाउँदै

प्राण त्याग्ने दाउरा

तिमीहरूलाई स्वस्थ राख्न सहयोग पुर्‍याउने

दूध दिने गाईभैँसी र तिमीहरूको खेतबारीमा

दिनभरि मेहनत गर्ने हलगोरुको खान्की

तिमीहरूको ख्याउटे बालीनालीहरूलाई हृष्टपुष्ट बनाउने

मल बन्न तत्पर पतकर

तिमीहरूको उकालीको सहारा लौरो आदि

कहाँबाट आउँथ्यो, हामी नभए !?

ए !

स्वघोषित बुद्धिजीवी मान्छेहरू हो !

एकफेर छातीमा हात राखेर सोचेर हेर

हामी नहुने हो भने के होला तिमीहरूको हाल !?

ए ! आफूलाई सर्वश्रेष्ठ प्राणी ठान्ने मान्छेहरू हो !

तिमीहरूले त हाम्रा शाखासन्तानहरूलाई फैलाएर

सारा नाङ्गा पाखापखेराहरूको आङ ढाकिदिनुपर्ने होइन र !?

तर सौतालाई भन्दा पल्लो छेउको

र संसारकै सबैभन्दा तल्लो खालको व्यवहार गरी

समृद्धिको सुन्दर नारा लाउँदै

विकासको मीठो गीत गाउँदै गरिरहेका छौ

निर्ममतापूर्वक हाम्रो हत्या ।

कि ख्याल गरेका छैनौ

तिमीहरूको क्रियाकलापले तरवार बनेर

तिमीहरूलाई नै मार हानिरहेको कुरा ?

ए !

आफूलाई दूरदर्शी मान्ने मान्छेहरू हो !

आफ्नो जिन्दगी र सन्तानको भविष्यको चिन्ता छ भने

बेलैमा खोल तिमीहरूको मस्तिष्कमा लागेको ताल्चा ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.